यस समस्याको समाधानका लागि केही व्यावहारिक उपाय अपनाउन सकिन्छ-
१. निश्चित दिनमा पशुवाहक सवारी सञ्चालन
दशैंजस्ता चाडपर्वका बेला खसीबोकाको चाप बढी हुने मार्ग पहिचान गरी निश्चित दिनमा पशुवाहक सवारीसाधन सञ्चालन गर्ने व्यवस्था गर्न सकिन्छ। सम्बन्धित गाउँका किसान तथा व्यापारीले त्यही दिन पशु ढुवानी गर्दा ओसारपसार व्यवस्थित बनाउन सहज हुन्छ ।
२. सुरक्षित ढुवानीका लागि छुट्टै व्यवस्था
बसको डिकी वा यात्रु बोक्ने अन्य असुरक्षित स्थानमा खसीबोका राखेर ढुवानी गर्न निरुत्साहित गर्नुपर्छ। पशु बोक्न उपयुक्त सवारीसाधन, पर्याप्त हावा आवतजावत हुने संरचना, उचित ठाउँ र सुरक्षित रूपमा पशु राख्ने व्यवस्था सुनिश्चित गरिनुपर्छ ।
३. चालक र व्यवसायीमाथि कडा कारबाही
पशु ढुवानीसम्बन्धी मापदण्ड उल्लंघन गर्ने चालक, सवारीधनी तथा जिम्मेवार व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही हुनुपर्छ । लापरबाहीका कारण पशु मरेको वा गम्भीर घाइते भएको अवस्थामा घटनाको छानबिन गरी जिम्मेवारी निर्धारण गर्नुपर्छ । कानुनी आधार र प्रमाणका आधारमा क्षतिपूर्तिको व्यवस्था पनि प्रभावकारी बनाउनुपर्छ ।
४. नियमित अनुगमन र जिम्मेवारी निर्धारण
पशु सेवा विभाग, स्थानीय तह, प्रहरी तथा सम्बन्धित निकायबीच समन्वय गरी चाडपर्वको समयमा मुख्य ढुवानी मार्गमा अनुगमन बढाउनुपर्छ । पशु ढुवानीसम्बन्धी मापदण्डबारे चालक, व्यापारी र किसानलाई जानकारी दिनु पनि उत्तिकै आवश्यक छ ।
५. पशु कल्याणलाई प्राथमिकतामा राख्ने
पशुलाई केवल किनबेच गरिने वस्तुका रूपमा मात्र हेर्नु हुँदैन। तिनलाई पीडा, चोटपटक र अनावश्यक तनावबाट जोगाउनु पनि ढुवानी व्यवस्थाको अनिवार्य हिस्सा हुनुपर्छ ।
एउटा पशु मर्दा मालिकलाई आर्थिक क्षति हुन्छ । तर, त्यो पशुले भोगेको पीडाको मूल्य पैसाले मात्र तिर्न सकिँदैन। पशु ढुवानीमा हुने लापरबाहीलाई सामान्य घटना मानेर छाड्ने हो भने यस्ता दुःखद घटना दोहोरिरहनेछन् ।
त्यसैले सम्बन्धित सरकारी निकायले पशु ढुवानीसम्बन्धी नियमको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन र दोषीमाथि कानुनअनुसारको कारबाही सुनिश्चित गर्नुपर्छ।




























