
महोत्तरी,०९ कात्तिक। महोत्तरीमा भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेको खजुर, सुर्ती, तुलसीको पत्तासहित ढुवानीमा प्रयोग गरिएको अटो बरामद भएको छ। सशस्त्र प्रहरी बल, नेपालले बरामद गरेका सामान र अटोसहितको कुल मूल्य ७ लाख २ हजार रुपैयाँ रहेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं। ९ गण हेडक्वार्टर महोत्तरीबाट खटिएको गाडी मोबाइल टोलीले सोमबार बिहान ६ः३० बजे मटिहानी नगरपालिका–७ स्थित भुट्टा गल्लीबाट उक्त सामान बरामद गरेको हो।
सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख डीआईजी विष्णु भट्टका अनुसार सशस्त्र प्रहरीका एसपी हरि बहादुर गुरुङको कमान्डमा खटिएको सात सदस्यीय टोलीले भारतबाट अवैध रूपमा भन्सार छली गरी ज १ ह ४४२६ नम्बरको अटोमा राखेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सामान नियन्त्रणमा लिएको हो।
टोलीले अन्दाजी १ लाख ६० हजार रुपैयाँ मूल्यका ३२ कार्टुन खजुर, २० हजार रुपैयाँ मूल्य बराबरको ४० किलो सुर्ती र ७२ हजार रुपैयाँ मूल्य बराबरका २४० प्याकेट तुलसीको पत्ता बरामद गरेको छ। त्यस्तै, सामान ढुवानीमा प्रयोग गरिएको अटोको मूल्य अन्दाजी ४ लाख ५० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीको टोलीलाई देखेपछि अटो चालकले अटो र सामान छाडेर फरार भएको बताइएको छ।
बरामद गरिएका सामान र अटोलाई आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
