नेपालमा चर्चामा रहेका कर्णालीका फरहान पाकिस्तान फर्किने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १०, सोमबार (१ घण्टा अघि)
  • ४२ पटक पढिएको
नेपालमा चर्चामा रहेका कर्णालीका फरहान पाकिस्तान फर्किने

काठमाडौं,०९ कात्तिक।  नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका कर्णाली याक्सका पाकिस्तानी खेलाडी साहिबजादा फरहान राष्ट्रिय टोलीमा छनोट भएपछि पाकिस्तान फर्किने भएका छन् ।

श्रीलंकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलका लागि उनलाई पाकिस्तानले बोलाएको कर्णाली याक्सले जनाएको छ ।

कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार फरहान अक्टोबर ३१ मा राष्ट्रिय टोलीको खेल सकिएपछि पुन: एनपीएलमा फर्किने सम्भावना छ । त्यस अवधिमा उनको स्थानमा अर्को खेलाडी ल्याउने तयारी कर्णालीले गरेको छ ।

घिमिरेका अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एनपीएल खेल्न नेपाल आएका पाकिस्तानी खेलाडीलाई अनापत्ति प्रमाणपत्र (एनओसी) दिन थप २५ हजार अमेरिकी डलर मागेको छ । खेलाडीहरू एनओसी लिएर नेपाल आइसकेपछि थप रकम मागिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

‘हामीले पाकिस्तानी खेलाडीलाई एनपीएलमा ल्याउनुको उद्देश्य उनीहरूको खेल हेर्नुका साथै नेपाली क्रिकेटको विकासमा लगानी गर्नु पनि हो । नेपाली क्रिकेट अहिले विकासको चरणमा छ । यस्तो अवस्थामा अन्तिम समयमा थप रकम मागिँदा हामी दु:खी छौँ,’ घिमिरेले भने ।

उनका अनुसार कर्णालीले थप रकम तिरेर खेलाडीलाई एनपीएलमा सहभागी गराउने विषयमा पनि छलफल गरिरहेको थियो । तर, फरहानलाई राष्ट्रिय टोलीबाट खेल्न बोलाइएपछि उनी पाकिस्तान फर्किनुपर्ने भएको हो । अक्टोबर ३१ मा खेल सकिएपछि उनी पुन: कर्णालीमा आबद्ध हुने अपेक्षा गरिएको घिमिरेले बताए ।

घिमिरेले यस घटनालाई पाकिस्तानसँगको सम्बन्ध बिगार्ने विषयका रूपमा नलिएको पनि स्पष्ट पारे । भविष्यमा पनि पाकिस्तानी खेलाडी आवश्यक पर्ने भएकाले आपसी सम्बन्ध कायम राख्दै समस्याको समाधान खोज्नुपर्ने उनको भनाइ छ ।

कर्णालीले फरहानसँगै अर्का पाकिस्तानी खेलाडी हुसेन तलातलाई पनि टोलीमा अनुबन्ध गरेको छ । फरहान राष्ट्रिय टोलीमा फर्किने भएपछि कर्णालीले बीचको अवधिका लागि अर्को खेलाडी ल्याउने तयारी गरेको छ ।

घिमिरेका अनुसार एनपीएलमा विदेशी खेलाडी ल्याउनु नेपाली क्रिकेटको स्तर र लोकप्रियता बढाउने प्रयासको हिस्सा हो । यस्तो अवस्थामा प्रतियोगिता सुरु हुने समयमा देखिएको समस्याले आफूहरूलाई निराश बनाएको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस