विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकका लागि डा. संगीता मिश्राको नाम सिफारिस

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १०, सोमबार (१ घण्टा अघि)
  • ५३ पटक पढिएको
विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकका लागि डा. संगीता मिश्राको नाम सिफारिस

काठमाडौं,०९ कात्तिक। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण-पूर्वी एसियाली क्षेत्रीय कार्यालय (सेरो) को सर्वोच्च पद ‘क्षेत्रीय निर्देशक’का लागि नेपालले प्रतिस्पर्धा गर्ने भएको छ।

उक्त पदका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई उम्मेदवार बनाउने औपचारिक निर्णय नेपाल सरकारले असोज ३० गते मन्त्रिपरिषद्बाट गरेको  हो।

तत्कालीन क्षेत्रीय निर्देशक बङ्गलादेशकी साइमा वाजेदले पदबाट राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा डा. मिश्रालाई अघि सार्ने निर्णयसँगै नेपालले उनको पक्षमा सदस्य राष्ट्रहरूको समर्थन जुटाउन कूटनीतिक समन्वय र लबिङ अघि बढाउने भएको छ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार डा. मिश्रालाई डब्लुएचओ सेरोको नेतृत्वमा पुर्‍याउन सरकारले सदस्य राष्ट्रहरूसँग समर्थन जुटाउने प्रयास गरिरहेको छ। डब्लुएचओले नयाँ क्षेत्रीय निर्देशक चयनका लागि औपचारिक कार्यतालिका सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

आगामी अक्टोबर १२ मा मनोनयन आह्वान गरी जनवरी २४ मा निर्वाचन गर्ने तयारी भइरहेको छ। यस पदका लागि नेपालबाहेक भुटान, मालदिभ्स र श्रीलङ्काले पनि आ–आफ्ना उम्मेदवार अघि सार्ने तयारी गरिरहेका छन्।

दक्षिण-पूर्वी एसियाली क्षेत्रका ११ सदस्य राष्ट्रमध्ये यस पटक १० देशले मात्र मतदान गर्न पाउनेछन्। सन् २०२१ को सैन्य ‘कु’ पछि संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धमा परेकाले म्यानमार मतदान प्रक्रियाबाट बाहिर रहनेछ।

यस क्षेत्रमा नेपाल, भारत, भुटान, उत्तर कोरिया, मालदिभ्स, श्रीलङ्का, थाइल्यान्ड र टिमोर-लेस्टेलगायतका देशहरू निर्णायक मतदाता हुन्। यस पटकको निर्वाचनमा भारतको समर्थन कसलाई रहन्छ भन्ने विषयले पनि नतिजामा महत्त्वपूर्ण असर पार्ने स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन्।

यसअघि सन् २०२३ मा भएको सेरो क्षेत्रीय निर्देशकको निर्वाचनमा नेपालका तर्फबाट डब्लुएचओको मुख्यालयमा कार्यरत वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. शम्भु आचार्य उम्मेदवार बनेका थिए। तर, तत्कालीन बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले आठ मत प्राप्त गर्दा डा. आचार्यले दुई मत मात्र पाएका थिए।

बङ्गलादेशमा भएको राजनीतिक परिवर्तन, वाजेदमाथि लागेका भ्रष्टाचारसम्बन्धी आरोप र डब्लुएचओको आन्तरिक छानबिनपछि उनलाई निलम्बन गरिएको थियो।

त्यसपछि उनले सेप्टेम्बर ९ मा पदबाट राजीनामा दिएकी थिइन्। वाजेदको राजीनामापछि रिक्त रहेको उक्त पदमा नेपालले पुनः उम्मेदवारी दिन लागेको हो।

ताजा अपडेट

खोजी गर्नुहोस