नेपाल भारत सीमा हुँदै गाईगोरुको तस्करी, १० वटा गाईगोरु नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अपराध /
  • २०८३ कार्तिक १३, बिहिबार (१ घण्टा अघि)
  • ४६ पटक पढिएको
नेपाल भारत सीमा हुँदै गाईगोरुको तस्करी, १० वटा गाईगोरु नियन्त्रणमा

रौतहट,१२ कात्तिक।  नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाई गोरु बरामद गरिएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय प्रहरीले संयुक्त रूपमा ती गोरु बरामद गरेका हुन्।

बारासँग जोडिएको भारतको बिहारस्थित मोतिहारीमा तैनाथ एसएसबीको ७१औँ बटालियनअन्तर्गत ई–कम्पनी बेलदरवामठ र आदापुर प्रहरीले बिहीबार बिहान करिब २ : १५ बजे संयुक्त रूपमा सीमा क्षेत्रमा निगरानी गर्ने क्रममा उक्त गाई गोरु बरामद गरेका हुन्।

प्राप्त सूचनाका आधारमा सञ्चालन गरिएको संयुक्त गस्ती टोलीले भारतको इनर्वा (लरहाटोला) गाउँनजिकै नेपाल–भारत सीमा स्तम्भ नम्बर ३८४–१८ बाट भारतीय भूमितर्फ करिब ५० मिटरको दूरीमा गाई गोरु फेला पारेको एसएसबी ले जनाएको छ।

बरामद गरिएका चौपायामा तीन वटा गाई, चार वटा बाच्छा र तीन वटा बाच्छी रहेका छन्। ती चौपाया नेपालको नीलकण्ठ क्षेत्रबाट भारतको सिरसिया कलातर्फ तस्करी गरी लैजाँदै गरिएको प्रारम्भिक विवरणमा उल्लेख छ।

रातको अँध्यारोको फाइदा उठाउँदै तस्करीमा संलग्न व्यक्तिहरू भने नेपालतर्फ भाग्न सफल भएका थिए। बरामद गरिएका १० वटै चौपाया आवश्यक कानुनी कारबाहीका लागि आदापुर प्रहरी थानामा बुझाइएको एसएसबीले जनाएको छ।

सीमावर्ती क्षेत्रमा चौपाया तस्करी नियन्त्रण गर्न सुरक्षा निकायले सूचनाका आधारमा निगरानी तथा संयुक्त गस्ती सञ्चालन गर्दै आएको एसएसबी ७१ औँ बटालियन मुख्यालय पिपराकोठी ले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस