ड्युटी इन्चार्ज फेरिएलगत्तै जेलमा सुरुङ काण्ड, आठ कैदी फरार

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १६, आईतबार (२ घण्टा अघि)
  • ४९ पटक पढिएको
ड्युटी इन्चार्ज फेरिएलगत्तै जेलमा सुरुङ काण्ड, आठ कैदी फरार

डोल्पा,१५ कात्तिक। लागूऔषध कारोबारको घटना भएपछि डोल्पा जिल्ला कारागारका ड्युटी इन्चार्ज परिवर्तन गरिएको तीन दिनमै आठ जना कैदीबन्दी सुरुङ खनेर फरार भएका छन्।

नयाँ इन्चार्ज खटाएको तीन दिनमै शनिबार कैदीबन्दी फरार भएको प्रमुख जिल्ला अधिकारी जुनु हमालले बताइन्।

घटनाले कारागारको सुरक्षा निगरानी र व्यवस्थापनमाथि प्रश्न उठाएको छ। फरार हुने कैदीबन्दीले कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्डका संरचना भत्काएर सुरुङ खनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रमुख जिल्ला अधिकारी हमालका अनुसार सुरुङ खन्ने क्रममा बीचमा सेफ्टी ट्यांकी परेकाले त्यसलाई छल्दै खनिएको देखिएको छ। प्रारम्भिक विवरणअनुसार सुरुङको लम्बाइ करिब साढे तीन मिटर र गहिराइ चारदेखि पाँच फिट रहेको उनले बताइन्।

कैदीबन्दीले सुरक्षा व्यवस्था र कमजोरी पहिचान गरेर योजनाबद्ध रूपमा भागेको हुन सक्ने उनको भनाइ छ। ‘सुरक्षा व्यवस्थाको योजना राम्रो भए पनि कार्यान्वयन र तत्काल प्रतिक्रिया जनाउन केही समय लागेको देखिन्छ,’ उनले भनिन्, ‘यसलाई सुरक्षाकर्मीको लापरबाही मात्रै नभई समग्र सुरक्षा व्यवस्थापन र निगरानीको कमजोरीप्रति प्रश्न उठ्छ ।’

घटनापछि कारागारमा खटिएका सुरक्षाकर्मीको ड्युटी र जिम्मेवारीबारे समीक्षा भइरहेको छ। सीसीटीभी क्यामेराको अवस्थासमेत निरीक्षण भइरहेको र पुराना क्यामेरा झिकेर परीक्षण गर्ने काम भइरहेको हमालले जानकारी दिइन्। सुरक्षा व्यवस्थामा देखिएका कमजोरीबारे छानबिन भइरहेको उनले बताइन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस