
रौतहट,१५ कात्तिक। चन्द्रपुर नगरपालिका–४ का सञ्चारकर्मी सरोज मिश्र (दीपेन्द्र मिश्र) ले आफ्नी आमा गुमाएका छन्। उनकी आमा मालती देवी मिश्रको शनिबार ७५ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो।
पारिवारिक स्रोतका अनुसार आन्द्रासम्बन्धी समस्याका कारण भरतपुर सामुदायिक अस्पतालमा उनको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया सफल भए पनि उपचार जारी रहेकै अवस्थामा शनिबार दिउँसो ३ बजेर १५ मिनेटमा उनले अन्तिम सास लिएकी हुन्।
स्वर्गीय मालती देवी, स्वर्गीय राजकान्त मिश्रकी धर्मपत्नी हुन्। उनका श्रीमान् राजकान्त मिश्रको २०६३ सालमा मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो। उनी चन्द्रपुर नगरपालिका–४ स्थित दुर्गा माध्यमिक विद्यालय, ठारा टोलका संस्थापक प्रधानाध्यापकसमेत थिए।
मृतकका छोरा सरोज मिश्र स्थानीय सञ्चार क्षेत्रमा सक्रिय छन्। उनी प्रेस चौतारी नेपालका जिल्ला सदस्य, चन्द्रपुर राष्ट्रिय दैनिकका बजार व्यवस्थापक तथा मधेस भूमि दैनिकका चन्द्रपुर प्रतिनिधिका रूपमा कार्यरत छन्।
मालती देवीको निधनको खबरले परिवारजन, आफन्त, छरछिमेकी तथा सञ्चार क्षेत्रका सहकर्मी र शुभेच्छुकहरूलाई स्तब्ध बनाएको छ। उनको निधनले परिवारले एक अभिभावक गुमाएको छ भने आफन्तजन शोकमा डुबेका छन्।
यस दुःखद घडीमा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ।
