बैंकिङ कसुर मुद्दामा प्रसौनीका वडाध्यक्ष पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक २०, बिहिबार (१ घण्टा अघि)
  • ४९ पटक पढिएको
बैंकिङ कसुर मुद्दामा प्रसौनीका वडाध्यक्ष पक्राउ

बारा,१९ कात्तिक।  चेक अनादरसम्बन्धी मुद्दामा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले उनलाई बुधवार कलैयाबाट पक्राउ गरेको हो ।

बारा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) मीनबहादुर घलेका अनुसार बारा जिल्ला अदालतको गत कात्तिक १३ गतेको आदेशअनुसार कुशवाहालाई पक्राउ गरिएको हो ।

कलैया उपमहानगरपालिका–२३ का अस्थायी निवासी अनिलकुमार पटेलले कुशवाहाविरुद्ध चेक अनादरसम्बन्धी मुद्दा दायर गरेका थिए । सोही मुद्दामा अदालतले वादीको बिगो दाखिला गराउने प्रयोजनका लागि प्रतिवादी कुशवाहालाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

बारा जिल्ला अदालतको तहसिल शाखाले जिल्ला प्रहरी कार्यालय बारालाई पत्राचार गर्दै कुशवाहालाई पक्राउ गरी अदालतमा दाखिला गराउन अनुरोध गरेको थियो । अदालतको पत्रअनुसार प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

अदालतको पत्रमा कुशवाहा यसअघि साविक प्रसौनी गाविस वडा नम्बर ६ मा बसोबास गर्दै आएको र हाल कलैया उपमहानगरपालिका वडा नम्बर २३ मा बस्दै आएको उल्लेख छ ।

मुद्दाका वादी अनिलकुमार पटेल जगदम्बा ट्रेड कन्सर्नका प्रोप्राइटर हुन् । उनी चन्द्रिका राउतका छोरा रहेको पनि अदालतको पत्रमा उल्लेख छ ।

पक्राउ परेका वडाध्यक्ष कुशवाहालाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न अदालतमा उपस्थित गराइने डिएसपी घलेले जानकारी दिएका छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस