
रमेश कुमार यादव
कार्तिक २७, रौतहट
गरुडा नगरपालिकाले नगर क्षेत्रलाई उज्यालो र सुरक्षित बनाउने उद्देश्यले सञ्चालन गरेको ‘उज्यालो अभियान’ अन्तर्गत विभिन्न वडामा हाईमास्ट टावर लाइट जडान कार्यलाई तीव्रता दिएको छ। यसैक्रममा बुधबार नगरपालिकाका चार महत्वपूर्ण स्थानमा जडान गरिएका हाईमास्ट टावर लाइटको विधिवत् उद्घाटन गरिएको छ।
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले पुरोहितद्वारा वैदिक मन्त्र वाचन तथा धार्मिक विधिअनुसार पूजा–आराधना गराई टावर लाइटको उद्घाटन गरेका हुन्। नगरपालिकाको वडा नं. ३ स्थित मलाहीटोल तथा वडा नं. ९ को नरकटिया र श्रीपुर र गरुडा नगरपालिकाको वार्ड नं.६ पोठियाहि गरी चार स्थानमा १३ मिटर अग्ला हाईमास्ट टावर लाइट जडान गरिएको हो।

टावर लाइट सञ्चालनमा आएसँगै ती क्षेत्रका सयौँ घरपरिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। विशेषगरी रातिको समयमा अँध्यारोका कारण आवतजावत गर्न कठिनाइ हुने मुख्य सडक, सार्वजनिक स्थल, धार्मिक क्षेत्र तथा बस्ती आसपासका स्थानमा पर्याप्त प्रकाश पुग्ने विश्वास गरिएको छ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख जैसवालले नगरपालिकाले नगर विकास र जनताको सुविधालाई प्राथमिकतामा राखेर विभिन्न विकास निर्माणका काम अघि बढाइरहेको बताए। उनले दीपावलीअघि नै टावर लाइट जडान गर्ने योजना रहे पनि विभिन्न प्राविधिक तथा व्यवस्थापकीय समस्याका कारण निर्धारित समयमा काम सम्पन्न गर्न नसकिएको स्पष्ट पारे। छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई मध्यनजर गर्दै नगरका विभिन्न स्थानमा उज्यालो फैलाउने उद्देश्यले बत्ती जडान कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको उनको भनाइ थियो।

नगर प्रमुख जैसवालले भने, ‘हामी नगर विकासका लागि सधैँ प्रतिबद्ध भएर लागिरहेका छौँ। दीपावलीअघि नै यी बत्ती जडान गर्ने हाम्रो योजना थियो, तर विभिन्न कारणले सम्भव हुन सकेन। अहिले छठ पर्वलाई समेत मध्यनजर गर्दै नगरका विभिन्न स्थानमा उज्यालो फैलाउने अभियानलाई अगाडि बढाएका छौँ।’ उनका अनुसार वडा नं। ९ नरकटियास्थित छठ घाट आसपास तथा चारैतर्फ आवतजावत गर्ने पुल र सडक नजिक टावर लाइट जडान गरिनुले छठ पर्वमा व्रतालु, श्रद्धालु भक्तजन तथा सर्वसाधारणलाई विशेष सुविधा पुग्नेछ।

विशेषगरी छठ घाटमा पूजा गर्न जाने तथा फर्किने क्रममा पुल र सडकमा पर्याप्त प्रकाश हुँदा सम्भावित दुर्घटनाबाट बच्न सहयोग पुग्ने उनले बताए। त्यसैगरी, मुख्य सडक, सार्वजनिक आवागमन हुने स्थान र धार्मिक क्षेत्रलाई लक्षित गरी जडान गरिएका हाईमास्ट लाइटले रातिको समयमा पैदलयात्री, सवारीसाधन चालक, स्थानीय बासिन्दा तथा यात्रुलाई आवतजावत गर्न सहज बनाउने अपेक्षा गरिएको छ।
नगर प्रमुख जैसवालले नगरको कुनै पनि क्षेत्र अँध्यारो नरहोस् र नागरिकले रातिको समयमा समेत निर्धक्क भएर आवतजावत गर्न सकून् भन्ने उद्देश्यले उज्यालो अभियान सञ्चालन गरिएको बताए।

उनले भने, ‘नगरको कुनै पनि कुना अँध्यारो नरहोस् र स्थानीयवासीले रातिको समयमा समेत निर्धक्क भएर आवतजावत गर्न सकून् भन्ने उद्देश्यले हाईमास्ट टावर लाइट जडान गरेका हौँ। जनतासँग गरेको प्रतिबद्धता पूरा गर्नु मेरो जिम्मेवारी हो।’ नगरपालिकाका अनुसार हाईमास्ट लाइट जडानले सडक तथा सार्वजनिक स्थानमा प्रकाशको पहुँच बढाउनुका साथै नगरको शान्ति सुरक्षा कायम गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। रातिको समयमा हुने चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न पर्याप्त प्रकाशले सकारात्मक भूमिका खेल्ने नगर प्रमुख जैसवालले विश्वास व्यक्त गरे।

उनले नगरलाई व्यवस्थित, सुरक्षित, सुन्दर र उज्यालो बनाउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए। नगरका मुख्य सडक, चोक, धार्मिक स्थल तथा अँध्यारो रहने अन्य सार्वजनिक स्थानमा आवश्यकताअनुसार थप बत्ती जडान गर्ने योजना रहेको उनको भनाइ छ। हाईमास्ट टावर लाइट उद्घाटनका क्रममा तीनवटै स्थानका स्थानीयवासीले नगर प्रमुख जैसवालको पहलको प्रशंसा गर्दै खुसी व्यक्त गरेका थिए। स्थानीयले लामो समयदेखि रातिको समयमा अँध्यारोका कारण आवतजावतमा समस्या भोग्दै आएको उल्लेख गर्दै नयाँ टावर लाइट जडानले दैनिक जीवनमा सहजता ल्याउने विश्वास व्यक्त गरे।

उनीहरूले विकास निर्माणका कामलाई निरन्तरता दिन नगर प्रमुखलाई आग्रहसमेत गरेका थिए। गरुडा नगरपालिकाले सञ्चालन गरेको उज्यालो अभियानलाई स्थानीय स्तरमा सकारात्मक रूपमा हेरिएको छ। विशेषगरी छठ पर्वको समयमा घाटसम्म पुग्ने बाटो, पुल तथा सार्वजनिक स्थलमा पर्याप्त प्रकाशको व्यवस्था हुँदा धार्मिक गतिविधि सञ्चालन गर्न सहज हुने र नागरिकको सुरक्षामा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नगरपालिकाको यस पहलले विकास निर्माणसँगै नागरिकको दैनिक जीवन, सार्वजनिक सुरक्षा र धार्मिक तथा सांस्कृतिक गतिविधिलाई सहज बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।


