गढीमाईकी महिला मेयर आकांक्षी ई.पूजा यादव खेलाडीको हौसला बढाउँदै, विजेता टोलीलाई खाजा र उपविजेतालाई खेल पोशाक दिने घोषणा

गढीमाईकी महिला मेयर आकांक्षी ई.पूजा यादव खेलाडीको हौसला बढाउँदै, विजेता टोलीलाई खाजा र उपविजेतालाई खेल पोशाक दिने घोषणा

रमेश कुमार यादव
कार्तिक २४,रौतहट
गढीमाई नगरपालिकामा महिला मेयर पदकी आकांक्षी युवा नेत्री ई.पूजा यादव पछिल्लो समय आफ्नो राजनीतिक गतिविधि, जनतासँगको भेटघाट तथा सामाजिक कार्यमा सक्रिय देखिन थालेकी छन्। सामाजिक गतिविधिमा सहभागिता जनाउँदै युवाहरूको उत्साह, खेलकुदको विकास र स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले उनी विभिन्न कार्यक्रममा सहभागी हुँदै आएकी छन्। यसैक्रममा गढीमाई नगरपालिकाको वडा नम्बर–१ हरैयास्थित चौर (खेल मैदान) मा नगरपालिकाद्वारा आयोजित टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा युवा नेत्री ई।यादव सहभागी भएकी थिइन्।

फाइनल खेलमा उपस्थित भएर उनले खेलाडीहरूको हौसला बढाउनुका साथै खेलकुदले युवाहरूमा अनुशासन, एकता, आपसी सद्भाव र प्रतिस्पर्धात्मक भावना विकास गर्ने बताएकी थिइन्। प्रतियोगिताको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै विजयी भएको वडा नम्बर–१ हरैया टोलीलाई उनले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिन्। विजेता टोलीका खेलाडीहरूको मेहनत र खेलप्रतिको लगावको प्रशंसा गर्दै उनले आफ्नो व्यक्तिगत तर्फबाट चन्द्रनिगाहपुरस्थित बगान होटलमा टोलीका खेलाडीहरूलाई निःशुल्क खाजाको व्यवस्था गर्ने घोषणा समेत गरिन्।

त्यस्तै, प्रतियोगितामा उपविजेता बनेको मलाहिटोल टोलीका खेलाडीहरूलाई पनि उनले निराश नहुन आग्रह गर्दै हौसला प्रदान गरिन्। खेलकुदमा हार र जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै उनले एउटा प्रतियोगितामा दोस्रो हुनु असफलता नभई आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने अवसर भएको बताइन्। खेलाडीहरूलाई आफ्नो क्षमता र आत्मविश्वास कायम राख्दै निरन्तर अभ्यास गर्न तथा आगामी प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने लक्ष्यका साथ अघि बढ्न उनले प्रेरित गरिन्।


फाइनल खेलका क्रममा मलाहिटोल टोलीका खेलाडीहरूलाई आवश्यक खेल पोशाकको अभाव रहेको देखेपछि आफूलाई दुःख लागेको बताउँदै ई।यादवले उक्त टोलीका १५ जना खेलाडीलाई आफ्नो व्यक्तिगत खर्चमा खेल पोशाक उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन्। खेलाडीहरूलाई आवश्यक सामग्रीको अभावमा खेलकुद गतिविधिमा कठिनाइ हुन नदिन आफूले सक्दो सहयोग गर्ने उनको भनाइ थियो।
युवा खेलाडीहरूको मनोबल बढाउने र उनीहरूलाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले गरिएको उनको यस घोषणालाई उपस्थित खेलाडी तथा स्थानीय युवाहरूले सकारात्मक रूपमा लिएका छन्।

खेलाडीहरूले विजेता तथा उपविजेता दुवै टोलीलाई समान रूपमा प्रोत्साहन गरेको भन्दै ई.यादवको प्रशंसनीय कदमप्रति धन्यवाद व्यक्त गरेका थिए। स्थानीयस्तरमा खेलकुदको विकासका लागि प्रतियोगिता आयोजना गर्नुका साथै खेलाडीलाई आवश्यक सामग्री, प्रशिक्षण र प्रोत्साहनको व्यवस्था हुनुपर्ने आवश्यकता पनि यस घटनाले उजागर गरेको छ। विशेषगरी ग्रामीण क्षेत्रका प्रतिभाशाली युवाहरू आर्थिक तथा भौतिक स्रोतसाधनको अभावका कारण आफ्नो खेल क्षमतालाई अगाडि बढाउन नसकिरहेको अवस्थामा यस्ता व्यक्तिगत सहयोगले उनीहरूको मनोबल बढाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।


राजनीतिक गतिविधिसँगै सामाजिक तथा युवा लक्षित कार्यक्रममा सक्रियता बढाउँदै आएकी ई।पूजा यादवको यस पहललाई स्थानीय युवामाझ सकारात्मक सन्देशका रूपमा हेरिएको छ। आगामी दिनमा पनि खेलकुद, शिक्षा, सामाजिक सेवा तथा युवाहरूको क्षमता विकासका क्षेत्रमा यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्ने स्थानीय युवाहरूको अपेक्षा रहेको छ।

लेखकको बारेमा

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    लेखकबाट अन्य

    ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस