म्यानमार प्रहरीले गएको सोमवार सैनिक ‘कू’ पछि निर्वाचित नागरिक नेतृ आङ सान सू चीविरुद्ध विभिन्न अभियोग दर्ता गरेको छ ।
आङ सान सू ची अहिले कहाँ छिन् भन्नेबारेमा स्पष्ट नभए पनि उनलाई राजधानी ने पी तमा रहेको उनकै निवासमा राखिएको बताइएको छ ।
म्यानमारका राष्ट्रपति विन विन्टलाई पनि आरोप लगाइएको छ, दस्तावेजका अनुसार राष्ट्रपतिमाथि कोरोना महामारीका क्रममा सभामा प्रतिबन्ध लगाएको नियमको उल्लङ्घन गरेको आरोप छ । उनलाई पनि दुई हप्ताका लागि हिरासतमा राखिएको बताइएको छ ।
फेब्रुअरी १ को बिहानै सेनाले ‘कू’ गर्दै सत्ता हातमा लिएयता राष्ट्रपति वा सू चीलाई देख्न/सुन्न सकिएको छैन ।
सशस्त्र बलका प्रमुख मिन आङ ह्लाइङको नेतृत्वमा सैनिक ‘कू’ पछि एक वर्षका लागि सङ्कटकाल घोषणा गरिएको हो ।
गएको नोभेम्बर महिनामा भएको चुनावमा सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) ले सरकार गठन गर्ने बहुमत प्राप्त गरेको थियो । यद्यपि सेनाले यो चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको थियाे ।
नयाँ निर्वाचित तल्लो सदनको पहिलो बैठक पहिलो पटक गएकाे साेमवार बस्ने तयारी भएका बेला सेनाले नेतृ आङ सान सू कीलगायतका नेतालाई हिरासतमा लिएको थियाे । सेनाले यो बैठक स्थगित गर्न माग गर्दै आएको थियो ।