काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको समूह सक्कली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएको दाबी गर्नुभएको छ । दरबारमार्गमा भएको सभामा प्रधानमन्त्री ओलीले काठमाण्डौको सबैभन्दा ठूलो ठाउँ छान्दा पनि मानिसहरू नअटेको भन्दै यसबाट पार्टीको आधिकारिकताको फैसला भएको दाबी गर्नुभयो । अझै पनि कतिपयमा मानिसमा कुन समूह सक्कली हाे भन्ने अलमल रहेको भन्दै ओलीले भन्नुभयो, ‘जहाँ तपाईँ हामी छौँ, कम्युनिस्ट पार्टी मात्रै नभएर देशकै मूल पार्टी त्यही हो ।
ओलीले शुक्रवार (आज) काठमाण्डौमा इतिहासकै ठूलो सभा भएको दाबी गर्दै सभामा आउन नदिन अनेक प्रयास गर्दा पनि मानिसहरू आएको बताउनुभयो । उहाँले अब देशमा नरभक्षी आन्दोलन नहुनेसमेत बताउनुभयो । नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकामा जनसभा सुरु हुनुअघि काठमाण्डौका विभिन्न ठाउँबाट र्याली निकालिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गरेपछि सत्तारुढ नेकपा औपचारिक रुपमा दुई समूहमा विभाजित भएका छन् । प्रचण्ड–नेपाल समूहले विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ भने ओली समूहले सरकारको बचाउमा कार्यक्रमहरु गरिरहेको छ । बिहीवार (हिजो) प्रचण्ड–नेपाल समूहले आम हड्ताल गरेको थियो ।