वर्तमानकाल संवाददाता । रौतहट । फागुण ५ गते
रौतहटमा मंगलवार भव्याताका साथ सरस्वती पूजा मनाइएको छ ।
विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी देशभर सहित रौतहटमा पनि मंगलवार सरस्वती पूजा मनाइएको छ ।
श्रीपञ्चमीका दिन प्रत्येक वर्ष सरस्वती माताप्रति आस्था र विश्वास राख्ने विद्यार्थी, शिक्षक, शिक्षिका, कर्मचारी, पत्रकार लगाएतले सरस्वती पूजा मनाउने गर्छन ।
जिल्लाको प्रत्येक विद्यालय र टिउसनहरुमा विद्यार्थीहरुले भव्याताका साथ सरस्वती पुजा मनाएका छन ।
रौतहटमा खास गरेर विद्यालय र टिउसनहरुमा पढने विद्यार्थीहरुले विभिन्न किसिमका मनोरञ्जनात्मक एवं साँस्कृतिक कार्यक्रमको आयोजना गरी उत्साहपुर्वक सरस्वती पूजा मनाएका हुन ।
जिल्लाका अधिकांश निजी तथा सामुदायीक विद्यालयले मंगलवार विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै सरस्वती पूजा भव्य तरिकाले मनाएको देखिएको छ । कटहरिया नगरपालिका स्थित श्री जन्ता मावि सहितका अन्य विधालयहरुमा पनि सरस्वती पूजा भव्याताका साथ गरिएको छ । गरुडा , गौर , फतुवाविजयपुर , मौलापुर सहितका ठाउँहरुमा भव्यताका साथ सरस्वती पूजा गरिएको हो ।
माधवनारायण नगरपालिका ६ माधोपुर स्थित माध्यमिक विद्यालयले साँस्कृतिक कार्यक्रमको आयोजना गरेर सरस्वती पूजा भव्याताका साथ मनाएको छ ।
श्रीपञ्चमीको दिन सरस्वतीको पूजा तथा आराधना गरेमा ज्ञान, विद्या एवं बुद्धि बढ्ने जनविश्वास रहेको छ ।
संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आजका दिन विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ ।
आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ। सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ।
त्यही जनविश्वासका साथ विद्यार्थीहरुले माटोबाट बनाइएको सरस्वतीको मुर्तिमाथी कलम, किताव इत्यादी चढाएर सरस्वतीको पुजा आराधना गरी सरस्वती पूजा मनाएका हुन ।
सरस्वती पूजामा विद्यार्थीहरुले विहानै विहानै नुहाएर सरस्वती मातामाथी कलम किताव चढाएर सरस्वतीको पुजा आराधना गर्ने प्रचलन रहेको छ ।
विद्यालय नपठाईएका साना बालबालिकाहरूलाई यही दिनदेखी अक्षराम्भ गराउने प्रचलन छ । यो दिन बालबालिकाहरूलाई लेखपढ गर्न सिकाए उनीहरूले राम्रो विद्याआर्जन गर्ने धार्मिक विश्वास रहेको छ ।
यस दिन बिहानै भक्तिपूर्वक कलश स्थापना गरी पञ्चोपचारले गणेश, सूर्य, अग्नि, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ ।
सरस्वतीलाई नैवेद्यका रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ ।
सरस्वतीलाई सेतो रङ्ग, फूल, चन्दन, शङ्ख आदि प्रिय लाग्ने भएकाले आजका दिन पूजामा यी सामग्री चढाउने गरिन्छ। पूजापछि सरस्वतीको ध्यान र ‘श्रीं ह्रीं सरस्वत्यै स्वाहा’ मन्त्र जप गरिन्छ । यो मन्त्रलाई विद्या, बुद्धि र सौभाग्य प्रदायक मानिन्छ । यसपछि सरस्वती कवच पाठ गरिन्छ ।
यसरी मंगलवारबाट नै सूर्य उत्तरतिर लागि दिन लामो हुदै जाने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।