रौतहट । फाल्गुन १० गते
कृष्णलाई धेरैले भगवान मान्ने गर्दछन् । कृष्णले आफूलाई कैयौँ ठाउँमा भगवान नै भनेका छन् । सर्वसाधारण तथा राजा–महाराजाहरुले पनि कृष्णलाई भगवान स्कीकार गरेका छन् । हिन्दु धर्मशास्त्रले कृष्णलाई विष्णुका दश अवतारमध्ये एक मानेका छन् । विभिन्न देशमा भगवान भनेर पूजित कृष्णको जन्म जेलमा भएको थियो । उनको जन्म इसापूर्व ३११२ मा भएको मानिन्छ, यसलाई आधार मान्ने हो भने कृष्णको जन्म भएको करिब ५१३२ वर्ष भएको मान्नुपर्ने देखिन्छ । हिन्दु धर्मशास्त्रले मान्ने गरेको तथा अहिलेसम्म ग्रामीण धार्मिक समाजमा प्रचलनमा रहेको चार युगमध्ये द्वापर युगको सबैभन्दा मुख्य घटनाको रूपमा महाभारतलाई मानिएको छ । महाभारत युद्धमा मुख्य नायक कृष्ण नै थिए र यदि साहित्यको दृष्टिकोणले हेर्ने हो भने पनि विश्वकै सबैभन्दा ठूलो प्राचीन महाकाव्य मानिएको महाभारतका नायक कृष्ण नै हुन् ।
कृष्णले बाल्यकालदेखि नै धेरै सङ्घर्ष गर्नुपरेको थियो । कृष्णलाई आदर्शीकरण पनि गरिएको छ । कृष्णको बारेमा धेरै चर्चा भएको पाइन्छ । विश्वका कुनै पनि हिन्दूले कृष्णलाई सजिलै चिन्दछन् तर कृष्णका सन्तानको बारेमा कमैले जानकारी राख्दछन् ।
कृष्णका आठ पत्नी थिए । आठजनासित कृष्णले विधिवत विवाह गरेका थिए । आठ पत्नीलाई सम्बोधन गर्न शास्त्रमा अष्टभार्या भन्ने गरिएको पाइन्छ । आठ पत्नीको बारेमा विभिन्न ग्रन्थहरु स्पष्ट छन् । सोधीखोजी गर्दा कृष्णका जेठी पत्नी रुक्मिणी हुन् । यसै गरी कुनै सूर्यवंशीकी पुत्री कालिंदी, अवन्तीराजकी कन्या मित्रविंदा, अवधपति नग्नजितकी पुत्री सत्या, जाम्बवानकी पुत्री जाम्बवती, केकयराजका दुई छोरीहरु भद्रा र रोहिणी, मद्रराजकी कन्या सुशीला, सत्राजितकी पुत्री सत्यभामा र शैब्यराजकी पुत्री लक्ष्मणा कृष्णका अन्य पत्नीहरु हुन् । कृष्णको कसरी यत्ति धेरै बिहे हुन पुग्यो त ? यसको उत्तर जान्न त त्यही युगमा पुग्नु पर्दछ तर पनि कृष्ण आफ्नो युगका नायक थिए, वास्तवमा उनी महानायक थिए । कतिपय बिहे उनले युद्ध जितेर गरे । कतिपय कन्याले मन पराएर बिहे गरे वा युद्धमा पराजित राजाले आफ्नो छोरीलाई पालन गर्ने वचन लिएर छोरीको हात दिए । यसरी कृष्णका अनेक पत्नी थिए भन्ने सामाजिक कथन पनि रहेको छ अहिलेसम्म । सम्भवतः यसै कारण कृष्णलाई यसै पनि प्रेमको अवतार मान्ने गरिएको छ ।
कृष्णको जीवनमा अधिकांश पत्नीहरुले ठूला सहयोग गरेका छन् । ती प्रसंग र सन्दर्भअनुसार तिनीहरुको भूमिकाको स्मरण हुन्छ । कृष्णका पत्नीहरुमध्ये सत्यभामालाई लागेको थियो उनलाई कृष्णले सबै पत्नीहरुभन्दा बढी माया गर्दछन् । यो उनको भ्रम थियो । यो भ्रम हुने कारण यो पनि थियो कि सत्यभामाकै सहायताले कृष्णले नरकासुरको बध गरेका थिए । वास्तवमा कृष्णले पनि यो कुरा बुझेका थिए, यसैले उनले एक सन्दर्भमा सत्यभामालाई यो कुरा स्पष्ट पारिदिएका छन् । यथार्थमा कृष्ण सबै पत्नीलाई समान प्रेम गर्दथे ।
कृष्णका पत्नीहरुबारे केही अन्यौल रहेजस्तै उनका पत्नीबाट कतिवटा पुत्रहरु प्राप्त भए भन्ने विषयमा त्यत्ति धेरै स्पष्ट भएको पाइन्न । कृष्णका कति पुत्र थिए भन्ने विषयमा कृष्णका विषयमा जति स्पष्ट छन् त्यत्ति स्पष्ट उनका छोराहरुको विषयमा भने भएको देखिन्न । कृष्णका आठ पत्नीबाट असी पुत्र प्राप्त भएको उल्लेख कतै कतै भेटिन्छ ।
कृष्ण र रुक्मिणीका प्रद्युम्न, चारुदेष्ण, सुदेष्ण, चारुदेह, सुचारु, चरुगुप्त, भद्रचारु, चारुचन्द्र, विचारु र चारु गरी दश पुत्र थिए । कृष्ण र जाम्बवतीका साम्ब, सुमित्र, पुरुजित, शतजित, सहस्त्रजित, विजय, चित्रकेतु, वसुमान, द्रविड र क्रतु गरी दश पुत्र थिए । यसै गरी कृष्ण र सत्यभामाका भानु, सुभानु, स्वरभानु, प्रभानु, भानुमान, चन्द्रभानु, वृहद्भानु, अतिभानु, श्रीभानु र प्रतिभानु गरी दश पुत्र थिए । यसै गरी कृष्ण र कालिन्दीका श्रुत, कवि, वृष, वीर, सुबाहु, भद्र, शान्ति, दर्श, पूर्णमास र सोमक गरी दश पुत्र थिए । यसै गरी कृष्ण र मित्रविन्दाका वृक, हर्ष, अनील, गृध, वर्धन, अनद, महांस, पावन, वहिन र क्षुधि गरी दश पुत्र थिए । कृष्ण र लक्ष्मणाका प्रघोष, गात्रवान, सिंह, बल, प्रबल, ऊध्र्वग, महाशक्ति, सह, ओज र अपराजित गरी दश पुत्र थिए । यसै गरी कृष्ण र सत्याका वीर, चन्द्र, अश्वसेन, चित्रगुप्त, वेगवान, वृष, आम, शंकु, वसु र कृति गरी दश पुत्र थिए । यसै गरी कृष्ण र भद्राका संग्रामजित, वृहत्सेन, शूर, प्रहरण, अरिजित, जय, सुभद्र, वाम, आयु र सत्यक गरी दश पुत्र थिए ।
कतिपयले कृष्णले विधिवत विवाह गरेका आठ पत्नीबाट असी छोराको जन्म भएको कुरालाई मान्दै के पनि थपेका छन् भने उनका थप छोराहरु पनि थिए । तर यसबारे विस्तृत बताएका छैनन् । उनका भित्रिया पत्नीहरुबाट पनि थप सन्तानोत्पन्न भएको सङ्केत गरिएको हुन सक्छ ।
कृष्ण जीवित छँदै उनका धेरै पुत्र मारिएका थिए । महाभारत समाप्त भएको करिब ३६ वर्षपछि कृष्णका धेरै पुत्रहरुको एकापसमा लडाइँ भएर मृत्यु भएको थियो ।
कृष्णका पुत्रहरुबारे त धेरै जानकारी पाउन सकिएको छ । उनका पुत्रको संख्याबारे मतभिन्नता भने अवश्य रहेको छ तर कृष्णका कतिवटा छोरी थिए ? यसबारे जानकारी पाउन निकै मुस्किल रहेको छ तर कृष्ण र रुक्मिणीबाट एक पुत्रीरत्न प्राप्त भएको भने धेरै ठाउँमा उल्लेख रहेको पाइन्छ । कृष्ण र रुक्मिणीको पुत्रीको नाम हो – चारुवती । सम्भवतः चारुवतीलाई चारुमति पनि भनिएको पाइन्छ वा चारुवती र चारुमति गरी दुई पात्र पनि हुन सक्छन् ।
कृष्णका पुत्रहरुमा प्रद्युम्न, साम्ब, सट, सारण र गद निकै प्रसिद्ध भए । यिनीहरु इतिहासमा निकै प्रसिद्ध छन् । कृष्णका नातिहरुमा अनिरुद्ध र वज्रको प्रसिद्धिको चर्चा पनि पाइन्छ तर अन्य पुत्र तथा नातिहरुबारे खासै धेरै चर्चा वा उल्लेख गरिएको पाइन्न ।
कृष्ण र राधाको प्रसंग
कृष्णको नाम जहिले पनि राधासित जोडिन्छ । राधा कृष्णको बाल्यकालको साथी थिइन् । ११ वर्षको उमेरमा राधासित दुई दिनपछि फर्केर आउँछु भनेर गएका कृष्ण कहिल्यै फर्केर आएनन् । ८० वर्षपछि झन्डै ९१ वर्षको उमेरमा कृष्ण भएकै ठाउँमा राधा पुगेकी थिइन् । त्यत्तिखेर महाभारत युद्ध सिद्धिसकेको थियो । महाभारत युद्ध सकिएको केही समयपछि युद्धभूमिको भयंकर अवस्थालाई देखेर विह्वल र विक्षिप्त बनेका थिए ।
कृष्णलाई राधाले भेटेपछि त्यहीँ प्राणत्याग गरेकी थिइन् । सामान्य वार्तालाप भएको थियो दुई बीच । दुवैले जीवनको त्यो घडीमा आफ्ना बाल्यकाललाई सम्झेका थिए । दुवैले सुन्दर बाल्यकाललाई सम्झेर एकअर्कालाई नदेखाउने वा नदेखिने गरी अश्रुधार चुहाएका थिए । दुवैले रोएके दुवैले थाहा पाइसकेका थिए । आँखा देख्न नसक्ने भइसकेकी राधाले कृष्णको सबै कुरा देखिरहेकी थिइन् । राधाको देहत्यागले कृष्ण झन् असह्य वेदनाले छटपटिएका थिए ।
माथि नै भनिएको छ – इसापूर्व ३११२ तिर कृष्णको जन्म भएको थियो । महाभारतका वास्तविक नायक कृष्णको उमेर महाभारतको समयमा करिब ५६ वर्षको थियो अर्थात् महाभारत युद्धको समयमा कृष्णको उमेर ५६ वर्ष रहेको बुझिन आउँछ र महाभारत समाप्त भएको ३५÷३६ वर्षपछि इसापूर्व ३०२० तिर कृष्णको देहावसान भएको मानिन्छ ।
कृष्णलाई कुनै व्याधाले हानेको तीर लागेर मृत्यु भएको थियो ।
र अन्त्यमा,
कृष्ण आफैँमा एक संघर्षको नाम पनि हो । कतिपय विद्वानले यो पनि भनेका छन् कि कृष्ण यस्तो ऐना हो जहाँ अगाडि जसले जस्तो रुप लिएर उभिन्छ त्यस्तै अनुहार देखा पर्दछ रे । कृष्ण कूटनीतिज्ञ, राजनीतिज्ञ, योद्धा, सारथि, साथी, गुरु, परम ज्ञानी, असल शिष्य हुन् । कृष्ण शासक पनि हुन् र शासित पनि । अत्यन्त धेरै सहन सक्ने प्रतिभावान पनि हुन् । आफूलाई हदैसम्मको दयावान पनि देखाएका छन् । कृष्णलाई कैयौँका प्रिय वा प्रेमी पनि मानिन्छ । द्वापरमा मात्र होइन, कलियुगमा पनि मीरालाई कृष्णले दर्शन दिएको कुरा पनि सुनिन्छ । मोहिनी अवतार पनि कृष्णले लिएको मानिन्छ अर्थात् कृष्णमा यो गुण थियो कि उनीप्रति दुनिया मोहित हुन्थे । कृष्णको धार्मिक, आध्यात्मिक तथा दार्शनिक विचार आज पनि उत्तिकै महत्वपूर्ण छन् । उनका वाणीबारे आज पनि अध्ययन भइरहेको भनिन्छ । कृष्णले दिएको उपदेशहरुको संग्रहलाई संसारले गीताको रुपमा पूजा गर्ने गर्दछ । गीतामा सबै दर्शन पाइन्छ भन्छन् । यो विज्ञानको दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण रहेको मानिन्छ । गीताको ज्ञान हासिल गर्ने व्यक्ति अद्यपर्यन्त विद्वान मान्ने चलन रहेको छ । विश्वका विभिन्न देशमा गीताको आधिकारिक पढाइ हुने गर्दछ । हिन्दु धर्मबाहेकका धर्मावलम्बीहरुले पनि गीतालाई उच्च कोटिको ज्ञान दिने पुस्तकको रुपमा स्वीकार गरेका छन् र कृष्णलाई श्रद्धा तथा सम्मान गर्ने गरेका छन् ।
कृष्णलाई नेपाल पनि आएका थिए । कृष्ण अहिलेको रौतहटको भूमिमा पनि पाइला टेकेका थिए । रौतहटमा रहेका शिवालयमध्ये एकमा पूजा गरेका थिए भन्ने विश्वास पनि गरिन्छ । कृष्णको नेपाल यात्रा र रौतहट बसाइँ पनि महत्वपूर्ण पक्ष हो । कुनै एक दिन यस विषयमा स्पष्ट पार्ने प्रयास गर्नेछु ।