वर्तमानकाल संवाददाता । रौतहट । फागुन १० गते
रौतहटको बौद्धिमाई नगरपालिकामा जनता समाजवादी पार्टीद्वारा प्रधानमन्त्री ओलिको असम्बैधानिक,अलोकतांत्रिक र प्रतिगमनकारी कदमको विरुद्ध प्रदर्शन तथा रैली सम्पन्न भएको छ। प्रतिनिधिसभा विघटनको विरुद्ध पालिका स्तरीय विरोध प्रदर्शन कार्यक्रम जनता समाजवादी पार्टी बौद्धिमाई नगरपालिका नगर कार्य समितिद्वारा आयोजना गरिएको थियो ।
बौद्धिमाई नगरपालिकाको नगर प्रमुख राजीव रंजन यादवको सक्रियतामा निकालिएको रैली तथा प्रदर्शन कार्यक्रम रौतहटको बौद्धिमाई नगरपालिकाको बंकूल बजारको परिक्रमा गरि रैली निकाली भब्य रुपमा विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शन कार्यक्रम रैली पछि बंकुलको नहर चौकमा कोण सभामा परिणत भएको थियो । कोणसभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख यादवले देश तथा मधेशको विकास,संघीयता, मधेशी जनताको हक, अधिकार तथा लोकतन्त्र, गणतन्त्रको रक्षाको लागि जनता समाजवादी पार्टी नै सर्बोपरि रहेको बताउनु भयो ।
विरोध सभा कार्यक्रममा बौद्धिमाई नगरपालिका नगर उप प्रमुख प्रेमलता कुशवाहा, जसपाको नगर अध्यक्ष तथा वडा नम्बर ६ पिपरिया परोहाको वडा अध्यक्ष हिरदे नारायण राय यादव,वडा नम्बर ४ इनरवारीका वडा अध्यक्ष देव् नारायण जयसवाल, वडा नम्बर ३ मतिअर्वाका वडा प्रत्यासी मणिभूषण साह,जसपा युवा संघका प्रदेश सदस्य लखिन्द्र यादव लगायत जनता समाजवादी पार्टीका नगर कार्य समिति,वडा कार्य समिति र सम्पूर्ण जसपाका नेता कार्यकर्ता तथा सर्व साधारणको उपस्थिति रहेको थियो ।