वर्तमानकाल समाचारदाता । रौतहट । फागुन ११ गते
प्रदेश २ का नव नियुक्त प्रदेश प्रमुख डा। राजेश झालाई सोमबार रौतहटको गढीमाई नपामा भव्य स्वागत गरिएको छ । प्रदेश नम्वर २ को प्रमुखमा पदभार ग्रहण गरेपछि राजेश झा अहिराज ले सोमवार रौतहटको गढीमाई मन्दीरमा पुजा अर्चना गरी गाउँवासी संग भेटघाट गरेका छन ।
प्रदेश २ को प्रमुखमा रहेका तत्कालिन तिलक परियारलाई नेपाल सरकारको मन्त्री परिषदले हटाउने र राजेश झालाई नियुक्त गर्ने सिफारिस राष्ट्रपति कार्यालयबाट भएका थिए । प्रदेश प्रमुखको पदभार ग्रहण गरी सोमवार जन्मस्थल रौतहटको गढीमाई नगरपालिका ३ सुन्दरपुर स्थित गढीमाईको मन्दीरमा पुजा अर्चना गरेको हो । पुजा अर्चना पछि गाउँवासी संग भेटघाट गर्दै उनले टाउकोमा देश र मनमा मधेश रहेको बताउदै म माथि विश्वास गरेर दिइएको जिम्मेवारी संविधान अनुरुप पूर्ण पालनाका साथ निर्वाह गर्ने उहाँले बताए ।
प्रदेश प्रमुख झालाई गढीमाई नगरपालिकाको मेयर श्यामप्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले नपाको तर्फबाट भव्य स्वागत गर्दै २०५ किलो ग्रामको सयपत्रीको माला ओढाएर सम्मानित गरिएको गढीमाई नगरपालिकाले जनाएको छ । स्वागत कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख इन्द्रदेव यादव, जिल्ला प्रहरी प्रमुख एसपी सिद्धि बिक्रम साह, गढ़ीमाई नपाका नगर उप प्रमुख शुभद्रा गुप्ता लगायत सैकड़ोको उपस्थिति रहेको थियो ।