वर्तमानकाल समाचारदाता । बारा । फागुन ११ गते
बाराको जीतपुर सिमरा उपमहानगरपालिका ९ स्थित आरती वनस्पति उद्योगमा भएको आगलागी १५ घण्टापछि नियन्त्रणमा आएको छ । आईतबार साँझ ७ः३५ बजेबाट लागेको आगो आज बिहान ११ बजेतिर मात्रै नियन्त्रणमा आएको हो प्रज्वलनशील पदार्थ हुने उद्योगमा भएको आगलागी नियन्त्रणमा लिन ८ वटा दमकलको प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बीरगन्ज महानगरपालिकाका ३ वटा, हेटौंडा, जीतपुरसिमरा, कलैया उपमहानगरपालिका, कोहल्वी नगरपालिका, नेपाल आयल निगम अमलेखगञ्जका एक(एक गरी ८ वटा वारुणयन्त्र र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी गराएका छन् ।