वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुण १३ गते
प्रदेश २ को सरकारले अन्य जिल्ला सहित रौतहटमा पनि जनता आवास कार्यक्रम सञ्चालन गरेको छ ।
प्रदेश सरकारले रौतहटमा जनता आवास कार्यक्रम अन्तर्गत अति दलित समुदायको पक्की घर निर्माण कार्य शुरु गरेको छ ।
जनता आवास कार्यक्रम अन्तर्गत रौतहटमा डोम, मुसहर, मेस्तर र हलखोर गरी यी चार जातिको पक्की घर बन्न लागेको छ ।
फुसको छानाबाट पक्की घर बन्न लाग्दा रौतहटका दलित समुदायहरु खुसी भएका छन ।
गरिविका कारण डोम, मुसहर, मेस्तर र हलखोर जाती वर्षोदेखी फुसकै घरमा गुजारा चलाउँदै आएका छन तर प्रदेश सरकारले पक्की घर बनाउन लाग्दा उनिहरु अब पक्की घरमा बस्न पाउँने भन्दै निकै खुसी भएका छन ।
जनता आवास कार्यक्रम अन्तर्गत रौतहटमा ११ सय ७५ जना दलित परिवारको पक्की घर निर्माण हुन लागेको छ ।
जिल्लाको क्षेत्र नं १ र २ मा २,२ सय, क्षेत्र नं ३ मा ३ सय ५० र क्षेत्र नं ४ मा २ सय ५० जनाको घर बन्न लागेको रौतहटका प्रदेश सांसद एवं जनता आवास कार्यक्रमका रौतहट संयोजक बाबुलाल साह कानुले बताउनुभएको छ ।
तिन लाख ५० हजारको लागतमा प्रति घर बन्न लागेको जनता आवास कार्यक्रमका संयोजक साहले बताउनुभयो ।
‘जनता अवास कार्यक्रम’ दलित, विपन्न परिवार, सीमान्तकृत समुदायलाई लक्षित गरी आर्थिक वर्ष ०६६र६७ बाट लागु गरिएको योजना हो । २०६६, ६७ सालबाट नै जनता आवास कार्यक्रम लागु भएपनि प्रदेश २ मा यस वर्षदेखी मात्रै लागु भइ सञ्चालन भएको हो ।
प्रदेश सरकारको भौतिक विकास मन्त्रालय अन्तर्गत यो कार्यक्रम सञ्चालन अवस्थामा रहेको छ ।
भौतिक विकास मन्त्री जितेन्द्र सोनलले डोम, मुसहर, मेस्तर र हलखोर जाति प्रदेश २ का महादलित, महाविपन्न भूमिहीन समुदाय रहेको बताउनुभएको छ ।
मन्त्री सोनलले ती चार दलित जातिमध्ये कतिपयको आफनो जमीनसमेत नभएकोले उनीहरुलाई स्थानीय सरकारसँग समन्वय गरी भोगाधिकारकै आधारमा भवन निर्माण गर्ने काम भइरहेको बताउनुभयो ।
क्रमशः एकल महिला, चमार, राम, पासवान र शहीद परिवारको समेत घर निर्माण गर्नुपर्ने भएपनि प्रथम चरणमा सामाजिक र आर्थिक रुपमा पछि परेका डोम, मुसहर, मेस्तर र हलखोर गरी यी चारै जातिको घर निर्माण सकिएपछि मात्रै अन्य समुदायको घर बनाउने तर्फ लाग्ने भौतिक विकास मन्त्री सोनलले बताउनुभयो ।