
पर्सा,१२ कात्तिक। अवैध घरेलु मदिराको उत्पादन र कारोबार नियन्त्रण गर्ने अभियानअन्तर्गत पर्सा प्रहरीले ठूलो परिमाणमा मदिरा बरामद गरेको छ। प्रहरीले बुधबार जिल्लाका विभिन्न स्थानमा विशेष अपरेसन सञ्चालन गरी २ हजार ९५ लिटर घरेलु मदिरा नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतका प्रहरी टोलीले विभिन्न स्थानमा गरेको कारबाहीका क्रममा उक्त मदिरा फेला पारेका हुन्। बरामद मदिरा कानुनी प्रक्रिया पूरा गरी प्रहरी कार्यालयमा ल्याइएको छ। त्यसलाई नष्ट गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले अवैध घरेलु मदिराको उत्पादन, बिक्री–वितरण र ओसारपसार कानुनविपरीत हुनुका साथै जनस्वास्थ्यका दृष्टिले समेत जोखिमपूर्ण रहेको बताएका छन्।
मापदण्डविपरीत विभिन्न रसायन प्रयोग गरेर उत्पादन गरिने घरेलु मदिराको सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले यसको अवैध कारोबार नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको उनको भनाइ छ।
प्रहरीले लुकिछिपी घरेलु मदिरा उत्पादन गर्ने, बिक्री गर्ने तथा ओसारपसार गर्ने गतिविधिमा संलग्न नहुन सम्बन्धित सबैलाई सचेत गराएको छ। यस्ता गतिविधिबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयको हटलाइन नम्बर १०० मा खबर गर्नसमेत प्रहरीले सर्वसाधारणसँग आग्रह गरेको छ।
अवैध मदिराको कारोबार नियन्त्रण, कानुन कार्यान्वयन र नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै प्रहरीले जिल्लाका विभिन्न क्षेत्रमा निगरानी तथा कारबाहीलाई निरन्तरता दिने जनाएको छ।
