मलंगवा नाकाबाट राति भारतीय नागरिकको प्रवेशबारे दाबी, सीमा सुरक्षामाथि उठ्यो प्रश्न

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १३, बिहिबार (५५ मिनेट अघि)
  • ३३ पटक पढिएको
मलंगवा नाकाबाट राति भारतीय नागरिकको प्रवेशबारे दाबी, सीमा सुरक्षामाथि उठ्यो प्रश्न

सर्लाही,१२ कात्तिक।  सर्लाहीको मलंगवा नगरपालिका–गोराकाली नाका हुँदै बुधबार राति करिब ९:३० बजे ८० देखि ९० जनाको संख्यामा भारतीय नागरिक नेपाल प्रवेश गरेको घटनाले सीमा सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ।

हिन्दू सम्राट सेनाका अनुसार भारतको उत्तर प्रदेशका नागरिक बताउने ती व्यक्तिहरूको परिचय खुल्ने विवरण व्यवस्थित रूपमा अभिलेख नराखी नेपाल प्रवेश गराउन खोजिएको थियो।

सेनाको टोली र स्थानीयले विरोध गरेपछि प्रहरीले उनीहरूसँग परिचयपत्र माग गरेको र करिब ९० जनामध्ये २५ जनासँग मात्रै आधार कार्ड फेला परेको दाबी गरिएको छ।

नेपाल प्रवेश गरेका ती नागरिकले सर्लाहीका विभिन्न स्थानमा रोजगारीका लागि आएको बताएका छन्। घटनासम्बन्धी विरोधको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

हिन्दू सम्राट सेनाले घटनाप्रति आपत्ति जनाउँदै सीमा नाकामा अनिवार्य परिचय जाँच, व्यवस्थित अभिलेख र प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित प्रशासन तथा प्रहरीसँग माग गरेको छ।

खुला सीमाको संवेदनशीलतालाई ध्यानमा राख्दै सीमा क्षेत्रमा परिचय र आवागमनको उचित अभिलेख राख्नुपर्ने माग उठिरहेका बेला यस घटनाले सुरक्षा निकायको निगरानी र जिम्मेवारीबारे थप प्रश्न खडा गरेको छ।

यद्यपि, घटनाको आधिकारिक विवरण र प्रहरी प्रशासनको प्रतिक्रिया भने पुष्टि हुन बाँकी छ।

कुनै पनि भारतीय नाकाबाट नेपाली नागरिक भारत प्रवेश गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले अनिवार्य परिचय खुलाउने कागज परिचयपत्र वा नागरिकता, मतदाता परिचयपत्र हेर्ने गर्दछ।

तर एकैपटक ८०!९० जना भारतीय नागरिक त्यो पनि रातिको समयमा नेपाल प्रवेश गर्दा उनीहरूको परिचयपत्र नहेर्नु अथवा हेर्न आलटाल गर्नु सुरक्षा कमजोरी भएको सहजै अनुमान लगाउन सकिन्छ।

ताजा अपडेट

खोजी गर्नुहोस