घरेलु मैदानमा मेक्सिकोको ऐतिहासिक सफलता, ४० वर्षपछि नकआउटमा जित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १७, बुधबार (१२ घण्टा अघि)
  • ५३ पटक पढिएको
घरेलु मैदानमा मेक्सिकोको ऐतिहासिक सफलता, ४० वर्षपछि नकआउटमा जित

काठमाडौं, १७ असार। सहआयोजक मेक्सिको फिफा विश्वकप २०२६ को अन्तिम १६ (राउन्ड अफ १६) मा प्रवेश गरेको छ ।

मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेका स्टेडियममा बुधबार बिहान भएको खेलमा इक्वेडरलाई २–० हराउँदै घरेलु टोलीले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

मेक्सिकोको जितमा राउल जिमेनेज र जुलियन क्विनोनेसले गोल गरे । खेलको २१औं मिनेटमा जुलियनले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । ३१औं मिनेटमा राउलले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन । र मेक्सिको घरेलु मैदानमा २–० ले विजयी भयो । बल पाेजिसनमा इक्वेडर अघि रहेपनि गाेल भने गर्न सकेन ।

जुलियन विश्वकपको तीन फरक खेलमा गोल गर्ने मेक्सिकोका दोस्रो खेलाडी । यसअघि लुइस हर्नान्डेजले १९९८ मा तीनै खेलमा गोल गरेका थिए ।

अज्टेका स्टेडियममा मेक्सिकोले अपराजित यात्रा कायम राखेकाे छ ।  योसँगै मेक्सिकोले ४० वर्षपछि विश्वकपको नकआउट चरणमा जित निकालेको छ । यसअघि मेक्सिकोले सन् १९८६ यता कुनै पनि नकआउट खेल जित्न सकेको थिएन ।

मेक्सिकोले समूह चरणमा दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिकलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको थियो । अब क्वार्टरफाइनल प्रवेशका लागि मेक्सिकोले इंग्ल्यान्ड र डीआर कंगोको विजेतासँग खेल्नेछ ।

हारसँगै इक्वेडरको विश्वकप यात्रा सकिएको छ । पाँचौंपटक विश्वकप खेलेको इक्वेडरले दोस्रोपटक समूह चरण पार गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस