
काठमाडौं, २६ भदौ। चितवनको भरतपुर महानगरपालिका–९ वसन्तचोकमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी हुँदा कारभित्र रहेका एक जनाको जलेर मृत्यु भएको छ ।
आज (शुक्रबार) बिहान करिब ६:०० बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा गुडिरहेकै अवस्थामा एक्कासि आगलागी भएको हो । आगलागीको सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।
आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि कारभित्र खोजी गर्दा एक जना व्यक्ति जलेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकको शरीर पूर्ण रूपमा जलेका कारण नाम, थर र ठेगाना खुल्न सकेको छैन । मृतक चालक वा यात्रु को हुन् भन्नेबारे सनाखतको प्रयास भइरहेको छ ।
आगलागीबाट विद्युतीय कार पूर्ण रूपमा नष्ट भएको छ । गुडिरहेको विद्युतीय कारमा एक्कासि कसरी आगलागी भयो भन्नेबारे प्राविधिक कारण अध्ययन भइरहेको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
