रौतहटको महम्मदपुरमा राष्ट्रिय धान दिवस मनाइयो, किसानका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता

रौतहटको महम्मदपुरमा राष्ट्रिय धान दिवस मनाइयो, किसानका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता

रमेश कुमार यादव
रौतहट, १६ असार। रौतहटको गरुडा नगरपालिका–५ महम्मदपुरमा सोमबार धान रोपेर २३औँ राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिवस उत्साहका साथ मनाइएको छ।

‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ यस वर्ष सरकारले देशभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ मनाएको हो। जलवायु परिवर्तनका चुनौतीका बीच धान उत्पादन वृद्धि गर्दै खाद्य तथा पोषण सुरक्षालाई सुदृढ बनाउने उद्देश्यका साथ दिवस मनाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

गरुडा नगरपालिका–५ स्थित श्री मनकामना कृषि बीउ उत्पादन फर्मका सञ्चालक सन्तोषी यादवको आयोजनामा सम्पन्न कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष रामबिनोद साह प्रमुख अतिथि तथा गरुडा नगरपालिकाका कृषि शाखा प्रमुख हेम काफ्ले विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा स्थानीय किसान, कृषि प्राविधिक, जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले खेतमै धान रोपेर कृषि पेशाप्रति सम्मान व्यक्त गर्नुका साथै किसानको श्रम, योगदान र समर्पणको कदर गरेका थिए। धान रोपाइँसँगै दही–चिउरा खाने परम्परालाई पनि निरन्तरता दिँदै सहभागीहरूले असार १५ को सांस्कृतिक महत्वलाई समेत स्मरण गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष रामबिनोद साहले नेपाल कृषि प्रधान देश भए पनि मधेश प्रदेशलाई अन्नको भण्डारका रूपमा चिनिने बताए। तर किसानले प्रत्येक वर्ष समयमा रासायनिक मल नपाउँदा खेतीपातीमा ठूलो समस्या भोग्नुपरेको भन्दै त्यसप्रति आफूहरू पनि चिन्तित रहेको उल्लेख गरे।

उनले संघ, प्रदेश तथा सम्बन्धित निकायले मलखाद आपूर्तिको विषयमा आवश्यक चासो नदिँदा किसान मारमा परेको बताउँदै स्थानीय तहबाट निरन्तर आवाज उठाइने र किसानका समस्याको समाधानका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरे।

विशिष्ट अतिथि तथा गरुडा नगरपालिकाका कृषि शाखा प्रमुख हेम काफ्लेले किसानको उत्पादन वृद्धि र आधुनिक कृषिको विकासका लागि नगरपालिकाले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले जलवायुमैत्री खेती प्रणाली अपनाउन किसानलाई आग्रह गर्दै यस्ता कार्यक्रमले कृषिप्रति युवाको आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। साथै, राष्ट्रिय धान दिवसलाई प्रभावकारी रूपमा आयोजना गरेकोमा आयोजक टोलीलाई धन्यवाद समेत दिएका थिए।

कार्यक्रमका आयोजक तथा श्री मनकामना कृषि बीउ उत्पादन फर्मका सञ्चालक सन्तोषी यादवले उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीलाई स्वागत गर्दै किसानका मुख्य समस्या समयमै गुणस्तरीय मलखाद उपलब्ध नहुनु रहेको बताए। उनले किसानको उत्पादन बढाउन आवश्यक कृषि सामग्री, उन्नत बीउ, सिँचाइ सुविधा तथा कृषि अनुदानलाई प्रभावकारी रूपमा उपलब्ध गराउन जनप्रतिनिधि तथा सम्बन्धित निकायसँग आग्रह गरे।

कार्यक्रममा स्थानीय किसानहरूले पनि आफ्ना अनुभव सुनाउँदै खेतीपातीमा देखिएका समस्या, उत्पादन लागत वृद्धि, सिँचाइ अभाव तथा मलखादको समस्या समाधान गर्न सरकारसँग माग गरेका थिए। सहभागीहरूले कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण तथा किसानमैत्री नीति लागू गर्नुपर्नेमा जोड दिएका थिए।

वि.सं. २०६१ सालदेखि मनाउन थालिएको राष्ट्रिय धान दिवसको २३औँ संस्करण यस वर्ष पनि देशभरका प्रदेश तथा स्थानीय तहमा विविध जनचेतनामूलक कार्यक्रम, सामूहिक धान रोपाइँ, कृषि प्रवर्द्धन तथा किसान सम्मान कार्यक्रम गरी भव्य रूपमा मनाइएको छ। असार १५ नेपाली कृषि संस्कृतिसँग जोडिएको महत्वपूर्ण दिनका रूपमा परिचित छ, जसले धान रोपाइँसँगै किसानको श्रम, उत्पादन र खाद्य सुरक्षाको महत्वलाई उजागर गर्ने विश्वास गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस