
वीरगञ्ज, २६ भदौ। वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तारको काम आगामी सोमबारसम्म सम्पन्न गर्ने लक्ष्यसहित तीव्र पारिएको छ। सडक सीमाभित्र रहेका अधिकांश संरचना हटाइसकिएको र बाँकी संरचना हटाउने काम पनि तीव्र गतिमा भइरहेको सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ।
सडक डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर तथा वीरगञ्जका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादका अनुसार अहिले सिद्धार्थ बैंक, पमपम बिल्डिङ र हनुमान मन्दिर पछाडिका केही संरचना हटाउने काम भइरहेको छ। यसअघि सडक विस्तारका क्रममा घरधनीले आंशिक रूपमा मात्रै संरचना भत्काएका कारण अधुरा रहेका संरचना पनि हटाउन थालिएको उनले बताए।
त्यस्तै, घण्टाघरदेखि माइस्थान चोकसम्मको सडकखण्डमा केही भवन सडकको मध्यबिन्दुबाट कायम हुनुपर्ने दूरीका विषयमा अन्योल देखिएपछि पुनः नापजाँच गरिने भएको छ। उक्त नापजाँचको कामसमेत एक साताभित्र सम्पन्न गर्ने योजना रहेको प्रसादले जानकारी दिए।
‘आउँदो सोमबारसम्म मुख्य सडक विस्तारसम्बन्धी सम्पूर्ण काम सक्ने लक्ष्यसहित काम भइरहेको छ,’ उनले भने।
सडक विस्तारका लागि सडक डिभिजन कार्यालय हेटौंडाले सुरुमा उत्तरतर्फ गण्डक क्षेत्रबाट र त्यसपछि दक्षिणतर्फ मितेरी पुलबाट एकैसाथ आधा दर्जनभन्दा बढी डोजर परिचालन गरेको थियो।
डिभिजन कार्यालयले पहिलो चरणमा गत वैशाख ६ र ७ गते मुख्य सडक क्षेत्रमा करिब १ हजार २ सय घर तथा भवनमा डोजर चलाएको थियो। त्यस क्रममा अधिकांश संरचनाको अगाडिको भाग हटाइएको थियो।
सडक सीमाभित्र परेका संरचना सम्बन्धित घरधनीलाई २५ दिनभित्र आफैं हटाउन आग्रह गरिएको थियो। तोकिएको समयसीमा सकिँदासमेत धेरै संरचना यथावत् रहेपछि सडक डिभिजनले दोस्रो चरणको अभियान अघि बढाएको हो।
दोस्रो चरणमा बाँकी रहेका संरचना हटाउने तथा सडक विस्तारका क्रममा देखिएका प्राविधिक समस्या समाधान गर्ने काम भइरहेको कार्यालयले जनाएको छ।
