सशस्त्र प्रहरी बलमा ठूलो संख्यामा रोजगारीको अवसर, ६६६ पदमा आवेदन खुला

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २६, शुक्रबार (१ घण्टा अघि)
  • ५३ पटक पढिएको
सशस्त्र प्रहरी बलमा ठूलो संख्यामा रोजगारीको अवसर, ६६६ पदमा आवेदन खुला

वीरगञ्ज, २६ भदौ। सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) ले साधारण समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि ठुलो सङ्ख्यामा नयाँ भर्ना आह्वान गरेको छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय, मानवश्रोत विभाग (भर्ना छनोट शाखा) हलचोकले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै जवान र विभिन्न ट्रेडका परिचर गरी कुल ६६६ पदका लागि आवेदन मागेको हो।

जारी सूचना अनुसार माग गरिएका पदहरूमध्ये सशस्त्र प्रहरी जवान पदका लागि मात्रै ६०४ जनाको कोटा निर्धारण गरिएको छ। जसअन्तर्गत खुलातर्फ ३२६ जना तथा समावेशी समूहअन्तर्गत आदिवासी/जनजातितर्फ ८५, मधेसीतर्फ ७४, महिलातर्फ ५३, दलिततर्फ ४०, पिछडिएको क्षेत्रतर्फ १४ र अमर तथा अशक्त सशस्त्र प्रहरी कर्मचारीका सन्ततिका लागि १२ सिट सुरक्षित गरिएको छ।

त्यसैगरी साधारण उपसमूहतर्फ विभिन्न ६ वटा प्राविधिक (ट्रेड) तर्फ ६२ जना सशस्त्र प्रहरी परिचरका लागिसमेत आवेदन खुलाइएको छ। परिचरतर्फ भान्छेतर्फ ३८, कूचिकारतर्फ ८, केशकर्तकतर्फ ७, सूचिकारतर्फ ६, चर्मकर्मीतर्फ २ र माली पदका लागि १ जनाको माग गरिएको छ। यी पदहरूमा पनि नियमानुसार खुला तथा समावेशी कोटा कायम गरिएको छ।

इच्छुक आवेदकहरूले भदौ ३० गतेदेखि आगामी असोज २८ गते कार्यालय समयभित्र दरखास्त फाराम बुझाइसक्नुपर्नेछ। अनलाइनमार्फत फाराम भरेका आवेदकहरूले भने आफूले दरखास्त दिँदा रोजेको सम्बन्धित कार्यालयमा असोज ३० गतेभित्र स्वयं उपस्थित भई सक्कल दरखास्त फाराम बुझाउनुपर्ने सूचनामा उल्लेख छ।

प्रारम्भिक शारीरिक परीक्षण (प्रारम्भिक मेडिकल) सम्बन्धी परीक्षा तालिका आगामी कात्तिक १३ गते सशस्त्र प्रहरी बलको आधिकारिक वेबसाइट तथा आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिने प्रधान कार्यालयले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस