
धनगढी, ११ असार। कैलालीको धनगढी उपमहानगरपालिका अन्तर्गतका विभिन्न होटल तथा लजहरूमा प्रहरीले विशेष अपरेसन सञ्चालन गर्दै २४ जनालाई नियन्त्रणमा लिएको छ।
बजार क्षेत्रका केही होटल तथा लजहरूमा कानुनविपरीतका अनैतिक तथा शंकास्पद गतिविधि भइरहेको भन्ने गोप्य सूचना तथा जनगुनासोका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको विशेष टोलीले आकस्मिक जाँच अभियान सञ्चालन गरेको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार विभिन्न होटल तथा लजहरूमा गरिएको छापामार जाँचका क्रममा ११ जना महिला र १३ जना पुरुष गरी कुल २४ जनालाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका १३ जना पुरुषमध्ये सात जना भारतीय नागरिक रहेका छन्।
डीएसपी तिमिल्सिनाले बजार क्षेत्रको सुरक्षा संवेदनशीलता, सामाजिक मर्यादा तथा सार्वजनिक शान्ति–सुरक्षालाई ध्यानमा राख्दै यस्ता विकृतिजन्य तथा गैरकानुनी गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई तीव्र बनाइएको बताए।
हाल नियन्त्रणमा लिइएका सबै व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। उनीहरूको संलग्नता, गतिविधि तथा कानुनी अवस्थाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले गैरकानुनी तथा सामाजिक विकृति फैलाउने गतिविधिविरुद्ध आगामी दिनमा पनि निगरानी तथा विशेष अपरेसनलाई निरन्तरता दिने जनाएको छ।
