वर्तमानकाल सम्वादाता
जेष्ठ ०४, रौतहट
रौतहटको चन्द्रपुर–१ स्थित वाग्मती नदीमा शुक्रबार साँझ डुबेर एक भारतीय नागरिकसहित दुई जना बेपत्ता भएका छन्। शनिबार दिउँसोसम्म दुवै फेला परेका छैनन्। सुरक्षाकर्मी र स्थानीयहरूले खोजतलास जारी राखेका छन्। चन्द्रपुर–१ पर्यटन क्षेत्र नुनथरस्थित वाग्मती खोलामा भारतको बिहार राज्य, सितामढी जिल्लाका २८ वर्षका हिमान्चु कुमार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन्। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार, घटना लगत्तै डिएसपी राजकुमार राईसहितको टोली पुगेर खोजतलास थालेको थियो।
डिएसपी राईले “डुबेर बेपत्ता भएका हिमान्चुको खोजतलास जारी छ, अहिलेसम्म फेला परेका छैनन्,” भने। यसअघि शुक्रबार साँझै चन्द्रपुर–१ स्थित वाग्मती पुल र ब्यारेजको बीच भागमा स्थानीय मंगलपुरका विनोद सहनीका सात वर्षीय छोरा मनिष कुमार सहनी पनि पानीमा खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। प्रहरीका अनुसार, मनिष आफ्नी ११ वर्षीया सानीआमा काली सहनीसँग घुम्न गएका बेला साँझ पानीमा खेल्ने क्रममा हराएका थिए।
वाग्मतीमा बेपत्ता भएका दुवै बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। वाग्मती नदीमा पौडी खेल्ने क्रममा बर्सेनि मानिसहरू बेपत्ता हुने गरेका छन्। प्रहरीका अनुसार, उक्त क्षेत्रमा पौडी खेल्न निषेध गरिएको भए पनि घुम्न गएका पर्यटकहरूले जबरजस्ती नदीमा पौडी खेल्ने गरेका छन्। २०७९ सालको असारको पहिलो साता नुनथर घुम्न गएका तीन भारतीय युवाहरू वाग्मती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।
भारतको सितामढी जिल्लाको कोटबजार निवासी २७ वर्षीय सुमन साह, ३० वर्षीय मयंक अग्रवाल र ३० वर्षीय गोलु कुमार वाग्मती नदीमा पौडी खेल्दा बगाएका थिए। तीमध्ये सुमनलाई स्थानीयले तत्काल उद्धार गरी ज्यान जोगाएका थिए भने मयंक र गोलुको शव घटनास्थलबाट १० किलोमिटर दक्षिणमा फेला परेको थियो। पूर्वपश्चिम राजमार्गबाट एक किलोमिटर उत्तरमा अवस्थित नुनथर क्षेत्र घुम्नका लागि ठूलो सङ्ख्यामा भारतीय पर्यटकहरू आउने गर्छन्। उक्त क्षेत्रमा हरेक वर्ष मानिसहरू पौडी खेल्ने क्रममा डुब्ने
गरेका छन्।


