ठाकुरराम क्याम्पस फर्जी भर्ना काण्ड :नेता र विद्यार्थी पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ६, सोमबार (९ महिना अघि)
  • ३ पटक पढिएको
ठाकुरराम क्याम्पस फर्जी भर्ना काण्ड :नेता र विद्यार्थी पक्राउ

वीरगञ्ज,०५ जेठ। वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा फर्जी भर्ना प्रकरणको विषयलाई लिएर आक्रोशित विद्यार्थीहरूले सोमबार क्याम्पस परिसरमा व्यापक विरोध प्रदर्शन गर्दै मिटिङ हलमा तालाबन्दी गरेका छन्। लामो समयदेखि फर्जी भर्ना सम्बन्धी गम्भीर आरोप लगाउँदै आएका विद्यार्थीहरूले प्रशासनले कुनै सुनुवाइ नगरेको भन्दै आजको प्रदर्शनमार्फत क्याम्पस प्रमुखसहित केही शिक्षकलाई कार्यकक्षमै थुनेर विरोध जनाएका हुन्।

विद्यार्थीहरूले आरोप लगाएका छन् कि क्याम्पस प्रशासनले हजारौँ रुपैयाँ असुलेर नक्कली कागजातको आधारमा केही विद्यार्थीलाई अवैध रूपमा भर्ना गरेको छ। पटक–पटक उजुरी, प्रमाणसहित ध्यानाकर्षण गराउँदा समेत छानबिन नहुँदा उनीहरू आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन्।

विरोधमा सहभागी एक विद्यार्थी नेताले भने, “महिनौँदेखि प्रमाणसहित कुरा राखिरहेका छौं, तर प्रशासन बेखबर बनेको छ। जबसम्म निष्पक्ष छानबिन हुँदैन, हाम्रो आन्दोलन जारी रहनेछ।”

प्रदर्शनका क्रममा स्वतन्त्र युवा समूहका श्याम प्रसाद गुप्ता, समाजवादी विद्यार्थी युनियनका सागिर आलम र अखिल क्रान्तिकारीका अनिस पटेललाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि भएको छ। प्रहरीले क्याम्पस परिसरमै पुगेर उनीहरूलाई पक्राउ गरेको थियो। यसपछि विद्यार्थीहरू झनै आक्रोशित भएका छन् र थप कडा आन्दोलनको चेतावनी दिएका छन्।

स्थानीय विद्यार्थी संगठन, विभिन्न राजनीतिक युवा संगठन तथा नागरिक समाजका केही प्रतिनिधिहरूले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै छानबिनको माग गरेका छन्। तर, क्याम्पस प्रशासन भने घटनाप्रति मौन देखिएको छ। थुनिएका क्याम्पस प्रमुखसहित केही शिक्षक तथा कर्मचारीलाई पछि प्रहरीले उद्धार गरेको जनाइएको छ।

यस प्रकरणले ठाकुरराम क्याम्पसको शैक्षिक तथा प्रशासनिक विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ। विद्यार्थीहरूले भने दोषीउपर कारबाही नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस