गरुडा नगरपालिकाले २४ जना शिक्षक भर्ना गरी शिक्षा क्षेत्रमा ऐतिहासिक पहल सुरु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ७, मंगलबार (९ महिना अघि)
  • ३ पटक पढिएको
गरुडा नगरपालिकाले २४ जना शिक्षक भर्ना गरी शिक्षा क्षेत्रमा ऐतिहासिक पहल सुरु

रमेश कुमार यादब
जेष्ठ ०५, रौतहट

शिक्षा क्षेत्रमा देखिएको दीर्घकालीन समस्याको समाधानको खोजी गर्दै गरुडा नगरपालिकाले ऐतिहासिक निर्णय लिँदै आफ्नै स्रोतबाट विभिन्न तहका २४ जना शिक्षक नियुक्त गरेको छ । नगर प्रमुख कन्थमनी प्रसाद जैसवालको नेतृत्वमा भएको यस पहललाई चौतर्फी रुपमा प्रशंसा प्राप्त भइरहेको छ । नगरभित्रका विद्यालयहरूमा शिक्षकको अत्यधिक अभावका कारण पठनपाठनमा
अवरोध हुँदै आएको थियो । केन्द्र सरकारले पटक(पटक अनुरोध गर्दा पनि आवश्यक संख्यामा शिक्षक उपलब्ध नगराएपछि नगरपालिकाले जोखिम मोल्दै आफ्नै स्रोत र साधनबाट शिक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।

सोमबार नगरपालिकाको सभाहलमा आयोजित विशेष कार्यक्रमका बीच नगर प्रमुख जैसवालको प्रमुख आतिथ्यतामा नवनियुक्त शिक्षकहरूलाई औपचारिक रूपमा नियुक्तिपत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममार्फत शिक्षकहरूलाई तोकिएको विद्यालयमा खटाइने प्रक्रिया पनि सुरु गरिएको छ । नगर प्रमुख जैसवालले कार्यक्रममा सम्बोधन गर्दै भने, हामीले शिक्षा क्षेत्रमा देखिएको समस्याको समाधानका लागि बारम्बार केन्द्रसँग आग्रह गर्यौं, तर शिक्षकको व्यवस्था हुन सकेन । अन्ततः हामीले आफैं आँट गरेर नगरको स्रोतबाट शिक्षक नियुक्त गरेका छौं ।

उनले थपे, अब पठनपाठनमा आएको बाधा हट्ने विश्वास लिएको छु । नगरपालिकाले नियुक्त गरेका शिक्षकहरूमा प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका गरी विभिन्न विषयका २४ जना शिक्षकहरू छन्। यसबाट नगरभित्रका २२ विद्यालयहरू लाभान्वित हुनेछन । कार्यक्रममा नगरपालिकाका शिक्षा स(संयोजक चाँन्द अलीले कार्यक्रम सञ्चालन गरेका थिए भने २२ विद्यालयका प्रधानाध्यापक, अन्य शिक्षक तथा अभिभावकहरूको समेत उपस्थिति रहेको थियो ।

नगर प्रमुख जैसवालले राष्ट्रिय साक्षरता अभियानमा समेत योगदान र्पुयाउने उद्देश्यले यस निर्णय लिइएको बताए । उनले शिक्षा सबैका लागि समान र सहज हुनुपर्छ भन्ने उदेश्यकासाथ आगामी दिनहरूमा पनि यस्ता योजनाहरू अघि बढाइने प्रतिबद्धता जनाए । स्थानीय अभिभावक, नागरिक समाज, विद्यालय व्यवस्थापन समिति र विद्यार्थीहरूले यस कदमको खुलेर प्रशंसा गरेका छन्। ।

उनीहरूले यो निर्णयले नगरभित्रको शैक्षिक गुणस्तरमा ठुलो सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्। । यसरी, गरुडा नगरपालिकाले शिक्षक नियुक्तीको माध्यमबाट शिक्षा क्षेत्रमा सकारात्मक हस्तक्षेप गर्दै स्थानीय तहबाटै सम्भव परिवर्तनको
राम्रो उदाहरण प्रस्तुत गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस