
वर्तमानकाल सम्वादता
जेष्ठ ०६ गते ।
मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेशको माटोमा विशेष प्रतिभावान व्यक्तित्वहरु भएको बताएका छन् । तुर्कमिनिस्तानमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा कांस्य पदक जितेका जनकपुरधामका १९ वर्षीय आशिष मिश्रलाई मुख्यमन्त्री कार्यालयमा सम्मान गर्दै मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन् । उनले मधेशको माटोमा प्रस्फुटन भएका यस्ता प्रतिभाको पहिचान, संरक्षण र प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको बताए। ‘मधेशको भूमिमा हिरा छन्, तर तिनको पहिचान बाँकी छ ।
आशिषजस्ता विद्यार्थीहरू केवल प्रदेशकै नभई समग्र राष्ट्रका लागि प्रेरणा हुन्’, मुख्यमन्त्री सिंहले भने । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मिश्रलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका हुन् । ओलम्पियाडमा कांस्य पदक प्राप्त गर्ने पहिलो नेपालीका रूपमा मिश्रले इतिहास रचेको उल्लेख गर्दै उल्लेख गरे । गत अप्रिल २१ देखि २६ तारिखसम्म तुर्कमिनिस्तानको शिक्षा मन्त्रालयको आयोजनामा आयोजित प्रतियोगितामा ३० भन्दा बढी राष्ट्रका विद्यार्थी सहभागी थिए । नेपालबाट ६ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
सहभागीहरूमध्ये जनकपुरधामका आशिष मिश्रले व्यक्तिगत तथा समूहगत प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जितेका हुन् । नेपालबाट दार्चुलाका आयुष ढुंगाना, गुल्मीका आयुष मरासिनी, धनुषाका आशिष मिश्र, भक्तपुरका सुहित ढुंगाना, काठमाडौंका प्रकाश आचार्य र शुभम श्रेष्ठ सहभागी भएका थिए । आगामी जुलाई ९ देखि २१ तारिखसम्म अस्ट्रेलियामा हुने ६६औं अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडका लागि पुनः ६ नेपाली विद्यार्थीको सहभागिता हुने म्याथमेटिक्स एशोसिएसन अफ नेपालले जनाएको छ ।
