वर्तमानकाल सम्वादाता
रौतहट,०७ जेठ। जिल्लाको कटहरिया नगरपालिका २ जमुनिया टोलमा दिउँसोको समयमा नै खुलेआम जुवा खेलाइँदै आएको छ। स्थानीय विद्यालयको उत्तरपट्टि रहेको बाँसघारी छेउमा दैनिक रूपमा कौडा खेल्ने तथा खेलाउने कार्य सञ्चालन हुँदै आएको हो।
सबैभन्दा चाैकाने कुरा त के छ भने जुवा संञ्चालनमा स्थानीय सुरक्षा निकायहरूकै संलग्नता देखिएको हो । जुवा खेल्ने व्यक्तिहरूकै दाबीअनुसार, स्थानीय नेपाल प्रहरी चौकी जंगलसैया र सशस्त्र प्रहरी बलको सुरक्षा बेश जंगलसैया दुबैले नियमित रूपमा उक्त अवैध गतिविधिबाट आर्थिक लाभ लिने गरेका छन्।
स्रोतहरूका अनुसार, नेपाल प्रहरीलाई दैनिक रु. २,००० र सशस्त्र प्रहरीलाई दैनिक रु. १,००० का दरले रकम बुझाइन्छ। यो हिसाबले प्रहरी चौकीलाई मासिक रु. ६०,००० र सशस्त्रलाई रु. ३०,००० बराबरको ‘काट’ हुने गर्छ।
प्रहरी तथा सशस्त्र प्रहरीका नाममा दैनिकरूपमा रकम सङ्कलन हुने गरेको खुलासा जुवा खेल्नेहरूकै भनाइमा आधारित छ। स्रोतहरूका अनुसार, नेपाल प्रहरी चौकीमा असई तवरेज आलम र सशस्त्र प्रहरी बेसमा सई भविन्द्र राज पाण्डे प्रमुखका रूपमा कार्यरत छन्।
सार्वजनिक स्थानमा, त्यो पनि विद्यालय नजिकै यस्ता अवैध गतिविधि सञ्चालन हुनु र त्यसमा सुरक्षा निकायकै मिलेमतोको आरोप लाग्नु गम्भीर विषय हो। यसले राज्य संयन्त्रप्रति जनविश्वासमा गम्भीर प्रश्न उठाएको छ।
यसबारेमा सम्बन्धित निकायहरूले तत्काल अनुसन्धान थाल्नुका साथै दोषी देखिएमा कारबाही प्रक्रिया अघि बढाउन आवश्यक देखिन्छ।


