रमेश कुमार यादब
जेष्ठ ०७, रौतहट
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले नगरभित्र रहेका गरिब, दलित तथा पछाडि परेका वर्गका छात्राहरुको शैक्षिक स्तर उकास्न विभिन्न सामाजिक तथा शैक्षिक कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै आउनु भएको छ । यसै क्रममा नगर प्रमुख जैसवालले बुधबार गरुडा नगरपालिका–८ मा अवस्थित श्री रामचन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साइकल तथा ब्याग वितरण गर्नुभयो ।
त्यही प्रयास अन्तर्गत उनले गरिब, दलित तथा पिछडिएको वर्गका छात्राहरुलाई विद्यालय आवतजावतमा सहजता ल्याउनका लागि निःशुल्क साइकल वितरण कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । बुधबार गरुडा नगरपालिका–८ स्थित श्री रामचन्द्र माध्यमिक विद्यालयमा एक विशेष कार्यक्रमका बीच २२ जना छात्राहरुलाई साइकल र किताब राख्ने झोला (बैग) वितरण गरिएको हो । सो कार्यक्रममा नगरप्रमुख जैसवाल प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी, जनप्रतिनिधि र विभिन्न समुदायका व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।कार्यक्रममा बोल्दै नगरप्रमुख जैसवालले विद्यालयसम्मको दूरी टाढा भएका कारण छात्राहरु नियमित विद्यालय आउन कठिन भएको बताउँदै, उनीहरुको शिक्षामा पहुँच सजिलो बनाउन साइकल वितरण गरिएको जानकारी दिए । उनले भने, “विद्यालयसम्मको यात्रा सहज नहुँदा छात्राहरुले पढाइमा निरन्तरता दिन सक्दैनन्, त्यसैले हामीले यो कदम चालेका हौं ।
अब छात्राहरु सहजै विद्यालय आउन सक्नेछन् र उनीहरुको उपस्थिति तथा शिक्षामा रुचि बढ्नेछ ।”साइकल वितरणसँगै नगरप्रमुखले विद्यालयमा आवश्यक भौतिक पूर्वाधारको समेत व्यवस्था गर्दै आएका छन् । हालै श्री रामचन्द्र माध्यमिक विद्यालयमा विद्यार्थी चापका कारण ८ सेट नयाँ डेस्क(बेन्च र ३ जना नयाँ शिक्षक पठाइएको जानकारी उनले दिए ।

साथै विद्यालयका लागि १५० वटा निःशुल्क झोला पनि वितरण गरिएको छ ।नगरप्रमुख जैसवालले चालु आर्थिक वर्षको नगर बजेटबाट साइकल वितरण कार्यक्रम सञ्चालन गरिएको बताउँदै, नगरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा दलित समुदायका छात्राहरुलाई क्रमशः साइकल वितरण गरिने जानकारी दिए ।
हालसम्म नगरभित्रका तीन विद्यालयमा साइकल वितरण सम्पन्न भइसकेको र बाँकी विद्यालयमा चाँडै वितरण प्रक्रिया अगाडि बढाइने पनि उनले स्पष्ट पारे ।साइकल पाएका छात्राहरुले खुसी व्यक्त गर्दै अब विद्यालय आउजाउ गर्न सजिलो हुने र पढाइमा अझ ध्यान केन्द्रित गर्न सक्ने बताए। एक छात्राले भने, “हामीलाई विद्यालय आउन धेरै समस्या थियो, अब साइकल पाएपछि समय पनि बच्नेछ र पढ्नमा मन लाग्नेछ ।”

अभिभावकहरुले पनि नगरपालिकाको यो पहलप्रति धन्यवाद ज्ञापन गर्दै यसले बालबालिकाको भविष्य उज्यालो बनाउने विश्वास व्यक्त गरे । नगरप्रमुख जैसवालको यो कार्यक्रमले न केवल छात्राहरुलाई विद्यालयमा टिकाइ राख्न सहयोग पु¥याइरहेको छ, तर शिक्षा क्षेत्रको समग्र सुधारमा समेत महत्वपूर्ण टेवा पु¥याइरहेको जनाइएको छ ।