रमेश कुमार यादब
जेष्ठ ०७, रौतहट
जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाको आयोजनामा विद्यालय सम्पर्क कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम देवाही गोनाही नगरपालिका–९ स्थित श्री जय किसान माध्यमिक विद्यालय, धरहरीमा आयोजित गरिएको थियो । कार्यक्रमको अध्यक्षता विद्यालयका सहायक प्रधानाध्यापक उपेन्द्र प्रसाद यादबले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा सेवा केन्द्र गरुडाकी प्रमुख प्रहरी नायव निरीक्षक (सई) दिपिका ओझा रहनु भएको थियो । उहाँले कार्यक्रमको सञ्चालन गर्दै बालबालिकामाथि बढ्दो अपराधका घटनाहरू, त्यसका प्रकार र बच्ने उपायहरूबारे गहिरो जानकारी दिनुभयो ।
कार्यक्रमको मुख्य उद्देश्य बालबालिका तथा किशोर–किशोरीहरूलाई हाल समाजमा घटिरहेका संवेदनशील अपराधहरूबाट सचेत गराउनु, आत्मरक्षा सम्बन्धी जानकारी प्रदान गर्नु र कानुनी परामर्श दिनु रहेको थियो । प्रहरी नायव निरीक्षक ओझाले समाजमा अहिले बालबालिकामाथि विभिन्न प्रकारका आपराधिक गतिविधिहरू भइरहेका बताउँदै बालबालिका अपहरण, बेचबिखन, यौन शोषण, जबरजस्ती करणी, घरेलु हिंसा, बालविवाह, बालश्रम, जातीय विभेद, दाइजो प्रथा, लागुऔषध प्रयोग तथा साइबर अपराधजस्ता गम्भीर विषयमा चेतना दिनुभयो । उहाँले पछिल्लो समय भारत लगायत अन्य मुलुकहरूमा बालबालिका बेचबिखनका घटना बढिरहेका कुरा उल्लेख गर्दै सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

उहाँले विद्यार्थीहरुलाई सजग र सतर्क रहन सुझाव दिँदै, “कुनै अपरिचित व्यक्तिले दिइएको खानेकुरा वा उपहार नलिनुहोस् । संकास्पद गतिविधि देखेमा तुरुन्त प्रहरी वा शिक्षकलाई जानकारी दिनुहोस्,” भन्नुभयो । कार्यक्रममा भिडियो प्रोजेक्टरमार्फत श्रव्य–दृश्य माध्यमबाट समेत शिक्षाप्रद सामग्री देखाइएको थियो। साथै, पर्चा–पम्प्लेट समेत वितरण गरेर यस्ता घटनाबाट कसरी बच्ने भन्ने विषयमा जानकारी प्रदान गरिएको थियो । साथै कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई समुहगत छलफल, प्रश्न–उत्तर सत्रमार्फत आत्मविश्वास अभिवृद्धि गर्ने प्रयास गरिएको थियो ।
त्यसतै विद्यालयका सहायक प्रधानाध्यापक उपेन्द्र प्रसाद यादवले प्रहरीद्वारा दिइएको यो कार्यक्रम अत्यन्तै उपयोगी र समयानुकूल भएको उल्लेख गर्दै, “विद्यार्थीहरूले यस्ता विषयको ज्ञान प्राप्त गर्नु आवश्यक छ, ताकि उनीहरू सजग र जिम्मेवार नागरिक बन्न सकून्,” भन्नु भयो । साथै उहाँले विद्यार्थीलाई सिकेको कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभयो । कार्यक्रममा विद्यालयका कक्षा ८, ९ र १० का ६२ जना छात्र–छात्राहरूको सक्रिय सहभागिता रहेको थियो । साथै, विद्यालयका शिक्षक शिक्षिकाहरूले समेत कार्यक्रमलाई सकारात्मक रूपमा लिएका थिए र प्रहरी प्रशासनप्रति आभार व्यक्त गरेका थिए ।
यस प्रकारको कार्यक्रमले विद्यालय र समुदायबीचको सहकार्यलाई थप बलियो बनाउने विश्वास गरिएको छ । कार्यक्रम अन्त्यमा विद्यालय प्रशासन र प्रहरी बिच सहकार्यलाई अझ सुदृढ बनाउँदै यस्ता कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्नुपर्नेमा सबैको जोड रहेको थियो । यो कार्यक्रमलाई निरन्तरता दिदैं जिल्लाको बिभिन्न बिधालयहरुमा जारी राखेको सई दिपिका ओझाले बताउनु भयो ।
वहाँका अनुसार अहिले सम्म देवाहिगोनाहि नगरपालिकाको वार्ड नं.९ धरहरी स्थित रहेको श्री जयकिसान मा.वि धरहरी, माधवनरायण नगरपालिकाको वार्ड नं.४ बिशुनपुर्वा स्थित रहेको माध्यमिक बिधालय मानपुर बिशुनपुर्वा गरि तिन वटा स्कुलमा यो कार्यक्रमबाट करिब ३ सय पच्चास भन्दा बढि बिधार्थी लगायत अभिभावकहरु लाभान्वित भएका बताउनु भयो ।