सर्लाहीको जिल्ला प्रशासन झुठा विवरण पेश गरी नागरिकता लिएको आरोपमा मुद्दा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १०, शुक्रबार (९ महिना अघि)
  • ४ पटक पढिएको
सर्लाहीको जिल्ला प्रशासन झुठा विवरण पेश गरी नागरिकता लिएको आरोपमा मुद्दा

 सर्लाही,०९ जेठ। सर्लाहीको जिल्ला प्रशासन कार्यालयमा झुठा विवरण पेश गरी गैर-नागरिकले नेपाली नागरिकता लिएको आरोपमा मुद्दा परेको छ।

बिहीबार जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय सर्लाहीमा दोहोरो नागरिकता सम्बन्धी कसुरमा मुद्दा परेको हो। मुद्दा दिनेहरूमा सर्लाहीको पर्सा गाउँपालिका वडा नं. ५ का ३४ वर्षीय विरेन्द्र साह सोनार, ५५ वर्षीय चन्देश्वर राय यादव र २४ वर्षीय रोहित कुमार महतो रहेका छन्।

उनीहरूले भारतको लुधियाना, पंजाब इन्द्र विहार फम्बरा रोडका स्थायी बासिन्दा मोहम्मद रोजा अंसारीका छोरा ५२ वर्षीय तसलीम अंसारी र उनको श्रीमती ५० वर्षीया जुमैदा खातुनविरुद्ध उजुरी दिएका हुन्।

तसलीम अंसारीले भारतीय नागरिक हुँदाहुँदै सर्लाही पर्सा गाउँपालिका वडा नं. १ निवासी रोजा मियाँको छोरा भनी झुठा विवरण पेस गरी वंशजको नाताले वि.स २०४५ सालमा नेपाली नागरिकता प्रमाणपत्र (नं. ७००५२०३४) प्राप्त गरेका थिए।

यस्तै, उनकी पत्नी जुमैदा खातुनले पनि भारतको नागरिक भएकी हुँदाहुँदै झुठा विवरण पेश गरी वि.स २०५४ सालमा नेपाली नागरिकता (नं. ७००५२५४०) लिएकी थिइन्। उनीहरू दुबै जनाको भारत सरकारद्वारा जारी आधार कार्ड रहेको, भारतमै जन्म, स्थायी बसोबास, र जग्गा-जमिन समेत रहेको प्रमाणित भइसकेको उजुरीमा उल्लेख छ।

यस घटनालाई लिएर उनीहरूविरुद्ध नेपाली नागरिकता ऐन, २०६३ को दफा १०/१४ अनुसार नागरिकता बदर गरी ऐनको दफा २१ अनुसार दण्ड सजायको माग गरिएको छ। स्थानीयबासीले यस्ता झुठा विवरणमार्फत नागरिकता लिने प्रवृत्तिमाथि कडा कारबाहीको माग गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस