बारा,०९ जेठ। बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–७ स्थित चेकपोस्टमा प्रहरीले ५४ लाखभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी निरीक्षक राजन सिवाकोटीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त कारबाही गरेको हो।
प्रहरीका अनुसार, ना ५ ख ६७४७ नम्बरको ट्रकलाई वीरगञ्जबाट रुपन्देहीतर्फ जाँदै गर्दा चेकजाँचको क्रममा रोकिनुका साथै त्यसमा लोड गरिएको बिल–बिजकभन्दा बढी मात्राको सामानको स्रोत स्पष्ट हुन नसकेको पाइएको थियो।
ट्रकबाट अन्दाजी ५४ लाख ३५ हजार २ सय ७८ रुपैयाँ बराबरका कपडा, लङ (कपडाका टुक्रा), धागो, चप्पल तथा अन्य खुद्रा सामग्रीहरू बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएका सामानहरू आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ।
प्रहरी स्रोतका अनुसार, यो कार्य अवैध व्यापार तथा कर छलफलकाविरुद्धको अभियानको हिस्सा हो, र यसले सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणमा सहयोग गर्ने अपेक्षा गरिएको छ।


