सर्लाही,१० जेठ। मधेश प्रदेशका मुख्यमन्त्री तथा जनमत पार्टीका नेता सतीशकुमार सिंहले स्थानीय तहहरूले पैसा खाएर अवैध निजी अस्पतालहरू पुनः सञ्चालन गराएको आरोप लगाएका छन्।
शनिबार सर्लाहीको बरहथवा नगरपालिका–१, नयाँ बजारमा आयोजित जनमत पार्टीको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले अनुगमनका क्रममा बन्द गरिएका मापदण्डविपरीतका अस्पतालहरू स्थानीय सरकारहरूद्वारा पुनः सञ्चालनमा ल्याइएको बताएका हुन्।
मैले अनुगमन गरेर दर्ता नभएका र मापदण्ड विपरीत रहेका अस्पतालहरू बन्द गराएँ, तर स्थानीय तहले धमाधम पैसा खाएर ती अस्पताल फेरि खोल्न दिइरहेका छन्,” उनले भने। संघीय सरकारमा अन्य पार्टीसँग मिलेर संयुक्त सरकार सञ्चालन गर्दा आफूले चाहेजस्तो काम गर्न नपाएको गुनासो पनि मुख्यमन्त्री सिंहले पोखे।
उनले विभिन्न अप्ठ्यारा र अवरोधको सामना गर्दै आएको उल्लेख गरे। यस्तै, पार्टी कार्यक्रमपछि मुख्यमन्त्री सिंहले बरहथवा–१ स्थित खर्सालघाट पुगेर बागमती नदीको तटबन्धको स्थलगत निरीक्षण पनि गरेका थिए।


