
वीरगञ्ज, १४ फाल्गुन।यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी स्थानीय प्रशासनले सर्वसाधारणसंग रहेको हतियार संकलन अभियान सुस्त बनेको छ ।
मधेश प्रदेशमा अहिलेसम्म करिब पाँच सय थान हतियार मात्रै प्राप्त भएको जनाइएको छ । इजाजत प्राप्त हातहतियार अनिवार्य रूपमा बुझाउन आग्रह गरे पनि करिब दुई हजार हतियार प्रशासन कार्यालयमा हतियारधनीले बुझाएको छैन ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाए अनुसार प्रदेशभर रहेका २ हजार ५३१ इजाजत प्राप्त हातहतियारमध्ये अहिलेसम्म ४८१ वटा मात्र बुझाएका छन् भने २ हजार ५० वटा अझै बुझाउन बाँकी नै छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न आठवटै जिल्ला प्रशासन कार्यालयले १५ दिनभित्र नजिकको प्रहरी इकाइ वा जिल्ला प्रहरी कार्यालयमा हातहतियार बुझाउन सूचना जारी गरेको थियो । तर निर्वाचन नजिकिँदै जाँदा समेत अपेक्षित संख्यामा हातहतियार नबुझाइएको प्रहरीले जनाएको छ ।
