चुनाव विरोधी गतिविधिमा संलग्न आशंकामा आठ जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन १३, बिहिबार (३ घण्टा अघि)
  • ३९ पटक पढिएको
चुनाव विरोधी गतिविधिमा संलग्न आशंकामा आठ जना पक्राउ

वीरेन्द्रनगर, १४ फाल्गुन। चुनाव विरोधी गतिविधिमा संलग्न हुनसक्ने आशंकामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। विभिन्न राजनीतिक दलसँग आबद्ध आठ जनालाई आवश्यक सोधपुछ तथा अनुसन्धानका लागि पक्राउ गरिएको सुर्खेत प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमलका ६६ वर्षीय नारायण न्यौपाने (क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज), कालीकोट नरहरिनाथ गाउँपालिका–७ का ३० वर्षीय डेबिट परियार भनेर चिनिने धिर दर्जी (वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका जिल्ला सचिव), सोही जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–६ का ४१ वर्षीय कर्णबहादुर बि.सी. (क्रान्तिकारी कम्युनिष्ट पार्टीका ब्युरो सदस्य), कैलालीको धनगढी उपमहानगरपालिका–१२ का ३८ वर्षीय श्याम कुँवर (वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका जिल्ला सचिव) रहेका छन्।

यसैगरी, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ का ४५ वर्षीय राजु भन्ने राजकुमार पौडेल (ने.क.पा. बहुमतका जिल्ला सचिव), भेरीगंगा नगरपालिका–१२ झुल्नेका ५४ वर्षीय रन्तबहादुर वली (ने.क.पा. क्रान्तिकारीका सुर्खेत जिल्ला कमिटी सचिव), भेरीगंगा नगरपालिका–९ ठुलाजात्राका ६६ वर्षीय पूर्ण तिरुवा (ने.क.पा. बहुमतका वडा कमिटी सदस्य) तथा रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ का ३८ वर्षीय मानबहादुर मल्ल (पार्टीमा आबद्धता नखुलेको) रहेका छन्।

निर्वाचनका बेला हुनसक्ने सम्भावित अवाञ्छित गतिविधि रोक्न तथा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले निर्वाचन अवधिभर कानुन विपरीतका गतिविधि नगर्न सबै पक्षलाई अनुरोध गर्दै शान्ति, सुव्यवस्था र सामाजिक सद्‍भाव कायम राख्न सर्वसाधारण तथा राजनीतिक दलहरूलाई अपील गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस