
धनुषा, १७ फाल्गुन। यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पञ्चायतकालीन राजनीतिका ‘खेलाडी’ मध्येका केहीका सन्तान अहिले चुनावी मैदानमा होमिएका छन् । उनीहरु आफै त निर्वाचनमा सहभागी भएनन्, तर त्यसबेलाका चुनावी ‘खेल’ मा माहिर मानिने तीन चर्चित नेताका चार सन्तान यसपटक मैदानमा होमिएका छन् ।
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वमन्त्री दीपक बोहोरा र हेमबहादुर मल्लका छोराहरु विभिन्न निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन् । ती सबै राष्ट्रिय प्रजातन्त्र पार्टीकै तर्फबाट उम्मेदवार बनेका छन् । धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा स्व. हेमबहादुर मल्ल दम्पतिसहित निर्वाचित भएपछि उनलाई ‘शेरे धनुषा’ उपमा दिएका थिए । त्यतिबेला श्रीमान हेमबहादुर मल्ल र श्रीमती शारदा मल्लसमेत पञ्चायतीकामा धनुषामा आफ्नो दबदबा कायम राखेका थिए । अहिले हेमबहादुर मल्ल दम्पतिका छोरा मनोज मल्ल धनुषा क्षेत्र– १ बाट उम्मेदारी दिएका छन् । हेमबहादुर मल्ल पञ्चायती चुनावहरुमा प्रभावशाली उम्मेदवारका रुपमा रहन्थे ।
नेपालको चुनावी इतिहासमा अहिलेसम्म उनले भन्दा बढी मत ल्याएर कसैले पनि चुनाव जितेको रेकर्ड छैन । उनले २०४३ को राष्ट्रिय पञ्चायत निर्वाचनमा ९३१४९ मतका साथ जित हासिल गरेका थिए । धनुषाबाट दुईजनाले राष्ट्रिय पञ्चायत सदस्यमा चुनाव जित्नुपर्ने व्यवस्था थियो । हेमबहादुर आफू पनि जित्थे भने अर्का उम्मेदवारलाई पनि जिताउथे । २०३८ मा पहिलोपटक उनले चुनाव जित्दा देवनारायण यादवले पनि निर्वाचित भएका थिए ।
त्यस्तै २०४३ मा उनले श्रीमती शारदालाई नै उम्मेदवार बनाएर जिताइन् । यति बलिया बाबुआमाका छोरा मनोज मल्ल अहिले पार्टीको कमजोर मतका आधारमा धनुषा– १ मा निर्वाचनको मैदानमा उत्रिएका छन् । उनी २०७४ मा त्यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार थिए । त्यतिबेला तत्कालीन नेकपा माओवादी केन्दका मातृकाप्रसाद यादवले २६४२८ मतले निर्वाचित हुँदा उनले ३४९२ मत ल्याइ चौथो भएका थिए । फेरि २०७९ मा चुनाव उठेका थिए । राप्रपा उम्मेदवारका रुपमा चुनाव लड्दा ८३७३ मत प्राप्त गरेका थिए । उक्त निर्वाचनमा जसपा नेपालका दीपक कार्कीले २७४३१ मत प्राप्त गर्दा मनोज चौथो नै भएका थिए ।
यसपटक फेरि उनी पूर्वविजेताहरु नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का मातृकाप्रसाद यादव र जसपाका दीपक कार्कीसहित एमालेका रामचन्द्र मण्डल, नेपाली कांग्रेसका रामपलटन साह र रास्वपाका किशोरी साहसहितकासंग प्रतिस्पर्धामा छन् । धनुषाको राप्रपाका आधारिक उम्मेदवार मनोज हुँदा हेमबहादुरका भतिज कृष्णप्रताप मल्ल भने यसपटक भूमिकाविहीन अवस्थामा छन् । मनोजकी पत्नी प्रेक्षा राप्रपाकी केन्द्रीय सदस्य छिन् । कृष्णप्रताप भने पहिल्यै सांसद भइसकेका छन् ।
त्यस्तै पूर्वप्रधानमन्त्री चन्दका कान्छा छोरा भुपेनबहादुर चन्द बैतडीमा राप्रपाका उम्मेदवार छन् । उनी चन्दका कान्छी पत्नी तर्फका कान्छा छोरा हुन् । कलाकारितासंगै विभिन्न व्यापारमा लागेका उनी केही समय अमेरिका बसेर फर्किएका छन् । ४६ वर्षको उमेरमा उनी पहिलोपटक चुनावी मैदानमा उत्रिएका छन् । बुबाको चुनावी इतिहासलाई मध्यनजर गर्दै भुपेन उम्मेदवार भएका छन् ।
यसपटक नेकपा एमालेबाट फेरि दामोदर भण्डारी नै उम्मेदवार छन् । त्यस्तै नेपाली कांग्रेसले पार्टीका जिल्ला सभापति तथा क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई उम्मेदवार बनाएका छन् भने नेपाली कम्युनिष्ट पार्टी(नेकपा) को तर्फबाट प्रमानन्द भट्ट उम्मेदवार छन् ।
त्यसैगरि रुपन्देही– १ का राप्रपा उम्मेदवार प्रज्ज्वल बोहोरा र उम्मेदवार रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट गौरव बोहोरा उम्ेमदवार छन् । उनी दुबै राप्रपा नेता स्व. दीपक बोहोराका छोरा हुन् । प्रज्ज्वल र गौरवका बुबा दीपक बोहोरा पञ्चायतकालभरि नाम चलेका राजनीतिक ‘खेलाडी’ मानिन्छन् । उनले पहिलोपटक ३०३८ को राष्ट्रिय पञ्चायतको चुनावमा रुपन्देहीबाट जितेका थिए । तर पञ्चायतकालीन हस्तीका छोराहरुको जन आधार कमजोर रहेको छ ।
