
धनुषा, १७ फाल्गुन। यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत धनुषाको १५४ जना उम्मेदवारमध्ये ८८ उम्मेदवारले मात्रै बैंकमा खाता खोलेका छन् ।
निर्वाचन कार्यालय मधेश प्रदेशका कार्यालय प्रमुख रोमबहादुर महतले निर्वाचन आयोगको निर्देशनानुसार प्रत्येक उम्मेदवारले अनिवार्य रूपमा बैंक खाता खोली निर्वाचनसम्बन्धी आम्दानी तथा खर्चको विवरण राख्नुपर्ने व्यवस्था रहे अनुसार ८८ जना उम्मेदवारले खाता खोलेको जानकारी दिए ।
यसैबीच जिल्ला आचारसंहिता अनुगमन अधिकृत कृष्ण गैरेले निर्वाचन आचारसंहिता विपरीत विभिन्न स्थानमा राखिएका करिब १ लाख ५० हजार प्रचार सामग्री नियन्त्रणमा लिइएको जानकारी दिए । उनले आचारसंहिताको पूर्ण पालना गर्न सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई आग्रह गर्दै उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी दिए ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले प्रतिनिधि सभा सदस्य निर्वाचन निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण बनाउन सम्पूर्ण तयारी पूरा भएको बताए । उनले शान्ति सुरक्षाको पर्याप्त व्यवस्था मिलाइएको उल्लेख गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको बताए ।
धनुषामा ६४५ मतदान केन्द्र तथा ३२३ मतदानस्थल तोकिएका छन् । तीमध्ये १९४ मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ । निर्वाचनका लागि ३ हजार ८७५ कर्मचारी परिचालन गरिएको छ भने ४ हजार ५०० म्यादी प्रहरी छनोट गरी परिचालन गरिएको छ ।
