
झापा, २६ जेठ। झापाको मेचीनगरमा नेपाल टेलिकमको केबल तार काट्दै गरेको अवस्थामा प्रहरीले दुई जनालाई रंगेहात पक्राउ गरेको छ।
कोशी प्रदेश अन्तर्गत झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ चारआली बजारस्थित लक्ष्मी डिपार्टमेन्ट अगाडि रहेको पोलबाट तार चोर्दै गर्दा उनीहरू पक्राउ परेका हुन्।
सोमबार बिहानको करिब ४ः३० बजेको समयमा पोलमा चढेर नेपाल टेलिकमको केबल काटिरहेको अवस्थामा प्रहरी चौकी चारआलीबाट खटिएको नियमित गस्ती टोलीले उनीहरूलाई फेला पारेको थियो। पक्राउ पर्नेहरूमा झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ बस्ने २३ वर्षीय संगम शेर्पा र सोही नगरपालिकाको वडा नम्बर १५ बस्ने २१ वर्षीय मणिराज राजवंशी रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट चोरीमा प्रयोग गरिएका सामग्री र काटिएको तार समेत बरामद गरेको छ। घटनास्थलबाट अन्दाजी ३५ मिटर नेपाल टेलिकमको केबल तार, तार काट्न प्रयोग गरिएको ३ थान ह्याक्सो ब्लेड र १ थान तार कटर बरामद भएको प्रहरीले जनाएको छ।
गस्ती टोलीले नियन्त्रणमा लिएका दुवै जनालाई सुरुमा प्रहरी चौकी चारआलीमा ल्याएको थियो। त्यसपछि थप कानुनी कारबाही र अनुसन्धानका लागि उनीहरूलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा बुझाइएको छ। पक्राउ परेका दुवै युवकविरुद्ध मुलुकी अपराध संहिता २०७४ को चोरी सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुमन बानियाका अनुसार पक्राउ परेका शेर्पा र राजवंशीमाथि थप अनुसन्धान गर्नका लागि झापा जिल्ला अदालतबाट ५ दिनको म्याद प्राप्त भएको छ।
