नेतृत्व चयनमा ढिलाइपछि रास्वपा प्रतिनिधि हेटौंडाबाट फर्किन थाले

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २७, बुधबार (३ घण्टा अघि)
  • २८ पटक पढिएको
नेतृत्व चयनमा ढिलाइपछि रास्वपा प्रतिनिधि हेटौंडाबाट फर्किन थाले

काठमाडौं, २७ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती अधिवेशन नेतृत्व चयनको प्रक्रिया निर्वाचन समितिले ढिलो गरेपछि प्रतिनिधिहरु घर फर्कन थालेका छन् ।

मंगलबार विहान सुरु भएको अधिवेशन हिजो नै सक्ने गरी कार्यतालिका बनाइएको थियो । बुधबार बिहानसम्म मतदान सुरु नभएपछि धेरै प्रतिनिधि घर फर्केको हेटौंडामा रहेका एक प्रतिनिधिले जानकारी दिए ।

नयाँ नेतृत्वका लागि सभापति पदमा चार जनाले उम्मेदवारी दिएका थिए । अच्युत्तम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर क्षेत्रीले सभापति पदमा उम्मेदवारी दिएका थिए । मतदान प्रक्रिया समयमा सुरु हुन नसकेपछि अधिकांश प्रतिनिधि घर फर्केका छन् ।

अधिवेशनका लागि हेटौंडा पुगेका एक प्रतिनिधिका अनुसार निर्वाचन समितिका कारणले अधिवेशन स्थगित हुन पुगेको बताए । उनी भन्छन्,‘हिजो मतदान नभएपछि ७० प्रतिशत बढी प्रतिनिधि घर फर्किसके । निर्वाचन समितिले मतदान समयमा गर्न नसक्दा अधिवेशन स्थगित हुने अवस्था बन्दै गयो ।’

संगठन विभागका उपप्रमुख बोधनारायण श्रेष्ठ र विभाग सचिव शंकर श्रेष्ठको अकर्मण्यताले समयमा मतदान सुरु हुन नसकेको ती प्रतिनिधिको भनाइ छ । उनी भन्छन्, ‘केन्द्रीय नेताहरु रहेको निर्वाचन समितिले समयमा मतदान प्रक्रिया सुरु नगरेपछि कमजोरी उहाँहरुकै देखियो ।’

संगठन विभागका सचिव श्रेष्ठले मतदानमार्फत नेतृत्व चयन गर्ने प्रक्रियामै रहेको जानकारी दिए । धेरै उम्मेदवारका लागि मतपत्र छपाउन समय लागेको हुँदा अधिवेशन लम्बिएको उनले बताए ।

श्रेष्ठले अनलाइनखबरसँग भने, ‘मतदान हुन्छ । कति बजेबाट गर्ने बारे छलफल गर्दैछौं । आज मतदान हुन नसके अर्को दिन गर्ने गरी भएपनि निर्वाचनबाट नयाँ नेतृत्व आउँछ ।’

अधिवेशनमा १३ सय बढी प्रतिनिधि सहभागी थिए । रास्वपाले प्रदेशतर्फ पहिलो अधिवेशन बागमतीबाट सुरु गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस