
वर्तमानकाल सम्वाददाता
जेठ २७, रौतहट
रौतहट जिल्लाका वन क्षेत्रहरू पछिल्ला केही वर्षयता उल्लेखनीय रूपमा सुधारोन्मुख बन्दै गएको देखिएको छ। एक समय चोरी कटानी, वन पैदावार तस्करी तथा अतिक्रमणका कारण संकटग्रस्त बनेका जिल्लाका वन क्षेत्रहरू अहिले संरक्षण र व्यवस्थापनका दृष्टिले सकारात्मक अवस्थामा पुग्न थालेका छन्। वन क्षेत्रमा हुने अवैध गतिविधिमाथि नियन्त्रण बढ्दै जाँदा स्थानीयवासीहरू समेत वन संरक्षण अभियानप्रति आशावादी देखिएका छन्। डिभिजन वन कार्यालय रौतहटका प्रमुख डिभिजन वन अधिकृत हेमन्त प्रसाद साहले जिम्मेवारी सम्हालेपछि वन संरक्षण तथा व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय सुधार आएको स्थानीयवासीहरूको भनाइ छ।
विगतमा वन क्षेत्रमा व्यापक रूपमा हुने अवैध फडानी, काठ तस्करी तथा वन अतिक्रमणका घटनालाई नियन्त्रण गर्न वन कार्यालयले कडा निगरानी र सक्रियता देखाएको छ। वन अधिकृत साहले जिल्लाका विभिन्न वन क्षेत्रको स्थलगत अनुगमन गर्दै चोरी कटानी, वन विनाश तथा तस्करी नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिरहेका छन्। उनी नियमित रूपमा वन क्षेत्रको निरीक्षणमा पुग्ने गरेका छन् भने वनसँग सम्बन्धित सबै निकाय, कर्मचारी तथा सामुदायिक वन उपभोक्ता समूहहरूसँग समन्वय गरी वन संरक्षणलाई प्रभावकारी बनाउने प्रयास गरिरहेका छन्। सञ्चारकर्मीसँगको कुराकानीमा डिभिजन वन अधिकृत साहले आफूले जिम्मेवारी सम्हालेयता कुनै पनि राजनीतिक दबाब, पहुँच वा बिचौलियाको प्रभावमा नपरी कानुनअनुसार काम गर्दै आएको बताएका छन्।
उनले वन संरक्षणलाई आफनो प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै भने, “हामी जनता र जंगल दुवैको हितलाई केन्द्रमा राखेर काम गरिरहेका छौं। वन क्षेत्रको सुरक्षा, संरक्षण र व्यवस्थापनका लागि हाम्रो सम्पूर्ण टोली दिनरात खटिएको छ।” उनका अनुसार वन कर्मचारीहरूलाई इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्न स्पष्ट निर्देशन दिइएको छ। वन क्षेत्रमा नियमित गस्ती परिचालन, आकस्मिक अनुगमन तथा सूचना संकलनको कार्यलाई थप प्रभावकारी बनाइएको छ।
यसका कारण विगतको तुलनामा वन पैदावार चोरी निकासी, अवैध कटानी तथा तस्करीका घटनामा उल्लेखनीय कमी आएको कार्यालयको दाबी छ। वन कार्यालयले वन अतिक्रमण नियन्त्रणलाई पनि प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। कार्यालयका अनुसार पछिल्लो दुई वर्षको अवधिमा जिल्लाका विभिन्न वन क्षेत्रमा अतिक्रमण गरी बनाइएका घर–टहरा हटाउने, अतिक्रमित जग्गा खाली गराउने तथा वन क्षेत्र पुनः संरक्षणको दायरामा ल्याउने कार्य प्रभावकारी रूपमा सम्पन्न गरिएको छ। वन अधिकृत साहले अतिक्रमित क्षेत्रहरूलाई पुनः वन क्षेत्रमा
रूपान्तरण गर्न वृक्षारोपण तथा वन पुनस्र्थापनाको अभियानलाई तीव्रता दिइएको जानकारी दिए।
कटान तथा विनाश भएका स्थानमा विभिन्न प्रजातिका बिरुवा रोप्ने, प्राकृतिक रूपमा उम्रिएका बिरुवाको संरक्षण गर्ने तथा नियमित रेखदेखको व्यवस्था मिलाइएको उनले बताए। वन संरक्षण अभियानअन्तर्गत कार्यालयले वन अतिक्रमणकारी तथा वन विनाशमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाहीलाई समेत निरन्तरता दिएको छ। सोही क्रममा २०८१ साल चैत २४ गते वन अतिक्रमण गरेको आरोपमा वृन्दावन नगरपालिका–४ हरैया निवासी बिल्टु राय यादव पक्राउ परेका थिए। डिभिजन वन कार्यालय रौतहतअन्तर्गत रहेको वृन्दावन सब–डिभिजन वन कार्यालय बल्लरीको गस्ती टोलीले उनलाई खयरघारी वन क्षेत्रमा अतिक्रमणका लागि वन फडानी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको थियो।
वन कार्यालयका अनुसार उनले वृन्दावन नगरपालिका–१ स्थित खयरघारी वन क्षेत्रभित्र करिब आधा कठ्ठा जमिनमा रहेको झाडी तथा बुट्यान खुकुरी प्रयोग गरी फाँड्दै वन अतिक्रमण गर्ने प्रयास गरेका थिए। वन कार्यालयका अनुसार पछिल्लो समय वन गस्ती प्रणालीलाई थप व्यवस्थित, चुस्त तथा प्रविधिमैत्री बनाइएको छ। जिल्लाभर परिचालित गस्ती टोलीलाई सक्रिय बनाइएकाले विगत करिब डेढ दशकयताकै सबैभन्दा प्रभावकारी रूपमा वन संरक्षण अभियान सञ्चालन भइरहेको दाबी गरिएको छ। यसले वन पैदावार चोरी निकासी नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल भएको कार्यालयको भनाइ छ।
स्थानीयवासीहरूका अनुसार अहिले पनि कतिपय स्थानमा छिटफुट रूपमा वन पैदावार चोरीका प्रयास हुने गरेका छन्। तर वन गस्ती टोलीको नियमित निगरानी, सूचना संकलन र समयमै हस्तक्षेपका कारण त्यस्ता गतिविधि सफल हुन नसकेको उनीहरूको भनाइ छ। गरुडा नगरपालिका निवासी अन्होती गुप्ताले डिभिजन वन अधिकृत हेमन्त प्रसाद साहको कार्यशैलीको प्रशंसा गर्दै रौतहटमा हालसम्म यति सक्रिय, निष्पक्ष तथा कर्तव्यनिष्ठ वन अधिकृत नआएको प्रतिक्रिया दिए।
उनका अनुसार वन संरक्षण, अतिक्रमण नियन्त्रण तथा वन व्यवस्थापनमा देखिएको सुधारले स्थानीयवासीहरूमा वन कार्यालयप्रतिको विश्वास बढाएको छ।वन क्षेत्र संरक्षण, अवैध गतिविधिमाथिको नियन्त्रण, वृक्षारोपण अभियान तथा समुदायको सहभागितालाई निरन्तरता दिन सकिए रौतहटका वन क्षेत्र आगामी वर्षहरूमा अझ हराभरा, समृद्ध र सुरक्षित बन्ने अपेक्षा गरिएको छ। वन संरक्षणमा सरकारी निकाय, स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह तथा स्थानीय नागरिकबीचको सहकार्यले जिल्लाको वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
