टेम्पो भिरबाट खसालिएको घटनामा छानबिन समिति गठन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १, सोमबार (२ घण्टा अघि)
  • ४२ पटक पढिएको
टेम्पो भिरबाट खसालिएको घटनामा छानबिन समिति गठन

धनगढी, ०१ असार। कैलालीको गोदावरी नगरपालिका–४ काे गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालिएको घटनाकाे छानबिनका लागि समिति गठन गरिएकाे छ ।

उद्योग पयर्टन वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा. हेमराज बिष्टकाे संयाेजकत्वमा छानबिन समिति गठन गरेकाे हाे ।

मन्त्रालयका सचिव दीर्घनारायण काेइरालाले मन्त्रीस्तरीय निर्णयअनुसार गठन गरिएको समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको बताए ।

समितिको सदस्यहरूमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा वन तथा वातावरण मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा रहेका छन्।

गत २९ जेठमा अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले टेम्पो भिरबाट खसालेको भिडियो सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा र विवाद सिर्जना गरेको थियो ।

त्यसपछि प्रदेश सरकारले घटनाको यथार्थता पत्ता लगाउन छानबिन समिति गठन गरेको हो । सचिव काेइरालाले घटनालाई मन्त्रालयले गम्भीर रूपमा लिएर छानबिन गरेर दाेषीलाई कारवाही गरिने बताए ।

याे घटनामा साेधपुछका लागि प्रहरीले १२ जना वन कर्मचारीलाई नियन्त्रणमा लिएकाे छ ।

ताजा अपडेट

खोजी गर्नुहोस