
काठमाडौं, १४ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीमा ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्यता दिएको भन्दै संसदमा नेपाली कांग्रेसले विरोध जनाएको छ । संसद बैठक सुरू भएलगत्तै कांग्रेसका तर्फबाट बोलेकी रेनुका काउचाले सत्तारुढ दललाई संविधान र कानूनले नछुने हो ? भन्दै आपत्ति जनाइन् ।
रास्वपाको महाधिवेशनमा प्रस्तुत एक प्रतिवेदनमा १८ वर्षमुनिका ३५ हजार २ सय ५७ जना १८ वर्षमुनिका व्यक्ति पार्टी सदस्य रहेको आँकडा प्रस्तुत गरिएको थियो ।
नेपालको कानूनअनुसार १८ वर्षभन्दा मुनिकालाई बालबालिका मानिन्छ र उनीहरूलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन पाउँदैनन् । यही विषयलाई लिएर काउचाले आपत्ति जनाएकी हुन् ।
काउचाले भनिन्, ‘रास्वपाको पहिलो महाधिवेशनमा विजय हुनुभएका सबैलाई बधाई दिन्छु । तर, महाधिवेशनमै घोषणा गरिएको एउटा तथ्यांकले भने गम्भीर आश्चर्यमा पारेको छ । रास्वपाले ३५ हजार २ सय ५७ जना १८ वर्षमुनिका बालबालिकालाई सदस्यता दिएको रहेछ । नेपालको संविधान र कानूनअनुसार १८ वर्षमुनिका बालबालिकालाई सदस्य बनाउन पाइँदैन । त्यसो गरिएमा ८० हजार जरिवाना र ३ वर्ष कैद सजायको व्यवस्था छ । के सत्तारुढ दलद रास्वपालाई संविधान र कानूनले छुँदैन ? रास्वपा संविधानभन्दा माथि हो ? बालबालिकालाई सदस्य बनाएर उनीहरुले हालेको भोटले निर्वाचित पदाधिकारी र सदस्यहरु वैधानिक हुन्छन् कि हुँदैनन् ?’
