
रमेश कुमार यादब
असार १४, रौतहट
रौतहटको बृन्दावन नगरपालिका–३ स्थित श्री माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) गठनका लागि आइतबार बोलाइएको बैठक अध्यक्ष पदमा सहमति जुट्न नसकेपछि स्थगित गरिएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनलाई लिएर विभिन्न पक्षबीच विवाद उत्पन्न हुने अवस्था सिर्जना भएपछि बैठक स्थगित गरिएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयका प्रधानाध्यापक रामदिनेश राय यादवद्वारा हस्ताक्षरित सूचनामार्फत आइतबारको बैठक स्थगित गरिएको जानकारी दिँदै अब असार १७ गते बुधबार पुनः बैठक बस्ने जनाइएको छ।स्थानीयका अनुसार अध्यक्ष पदका लागि तीन पक्षबीच प्रतिस्पर्धा देखिएको थियो ।
एक पक्षले आफूअनुकूल अध्यक्ष चयन गर्न खोजेको आरोप लगाउँदै अर्को पक्षले त्यसको विरोध गरेपछि केही समय दुवै पक्षबीच भनाभन तथा घम्साघम्सीसमेत भएको बताइएको छ । स्थिति तनावपूर्ण बन्न थालेपछि बैठक स्थगित गरिएको हो ।
विद्यालय जस्तो शैक्षिक तथा पवित्र संस्थामा पनि राजनीतिक प्रभाव बढ्दै गएको भन्दै स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन्। विद्यालयको व्यवस्थापनभन्दा राजनीतिक स्वार्थ हावी हुँदा विद्यालय व्यवस्थापन समिति गठनसमेत विवादमा परेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्। यसैबीच विद्यालयको आर्थिक पारदर्शितामाथि पनि प्रश्न उठाइएको छ ।
स्थानीयका अनुसार आर्थिक वर्ष २०७६/०७७, २०७७/०७८, २०७८/०७९ र २०७९/०८० सम्मको आय–व्यय विवरण सार्वजनिक नगरिएको आरोप छ । उक्त अवधिका तत्कालीन प्रधानाध्यापक भोला प्रसाद यादव हाल प्राथमिक विद्यालय दिपहीमा कार्यरत रहेको बताइएको छ । स्थानीयहरूले विद्यालयको भौतिक तथा शैक्षिक अवस्था समेत कमजोर बन्दै गएको, पठनपाठन प्रभावकारी हुन नसकेको तथा व्यवस्थापन पक्षले आवश्यक जिम्मेवारी पूरा नगरेको आरोप लगाएका छन् ।
यस विषयमा प्रतिक्रिया लिन बृन्दावन नगरपालिका–३ का वडा अध्यक्ष हरिनारायण साहसँग सम्पर्क गर्दा उहाँले विद्यालयका प्रधानाध्यापकले प्रचलित नियम र कानुनअनुसार आवश्यक प्रक्रिया अगाडि बढाउने विश्वास व्यक्त गर्दै थप टिप्पणी गर्न चाहनुभएन । अब असार १७ गते बस्ने भनिएको बैठकबाट सर्वसम्मत रूपमा विद्यालय व्यवस्थापन समिति गठन हुने वा विवाद थप गहिरिने भन्ने विषयलाई स्थानीयले चासोका साथ हेरिरहेका छन् ।
