भिडियो सार्वजनिक भएपछि ल्याब इन्चार्ज कुट्ने करार कर्मचारी पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २५, बिहिबार (१० घण्टा अघि)
  • ५६ पटक पढिएको
भिडियो सार्वजनिक भएपछि ल्याब इन्चार्ज कुट्ने करार कर्मचारी पक्राउ

कैलाली, २५ असार। कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेपछि करार सेवामा कार्यरत फिजियो थेरापिस्ट पक्राउ परेका छन् । पक्राउ पर्नेमा फिजियो थेरापिस्ट अनिल तिवारी रहेको प्रहरीले जनाएको छ ।

तिवारीले ल्याब इन्चार्ज उमेश बजगाईँमाथि अस्पतालभित्रै कुटपिट गरेको सीसीटीभी फुटेज सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । आफूमाथि कुटपिट गर्ने तिवारीलाई कारबाही गर्नुपर्ने माग गर्दै बजगाईंले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रेमकुमार राईलाई निवेदन दिएका थिए ।

सोही निवेदनमा टिकेर अस्पतालले इलाका प्रहरी कार्यालयमा कारबाहीको माग गर्दै निवेदन दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

स्रोतकाअनुसार मधेश प्रदेश घर भएका तिवारी २०७२ सालतिर नेपाली कांग्रेसका रतन खड्का अस्पताल व्यवस्थापन समिति अध्यक्ष भएका बेला ज्यालादारी काम गर्ने गरी थेरापी विभागमा राखिएका थिए । २०७६ तिर उनी करार सेवामा राखिएका थिए ।

सोही बेलादेखि उनी अस्पतालभित्र राजनीतिक पहुँचका आधारमा हैकम चलाउँदै आएका थिए । टीकापुर अस्पतालले केही दिनअघि ल्याब सम्बन्धीका सामान खरिद गरेको थियो । त्यसमा ल्याब इन्चार्जसहितलाई आर्थिक अनियमितताको आरोप लगाएर तिवारीले मेसुलाई उजुरी दिएका थिए ।

सोही विषयमा सोमबार दिउँसो तिवारीकै कार्यकक्षमा छलफल भइरहेका बेला उनले सुरुमा बजगाईं र मेसु राईमाथि अपमानजनक शब्द प्रयोग गरी दुर्व्यवहार गरेको स्रोत बताउँछ । आफूसँग बिना कारण निहुँ खोज्न भन्दै बजगाईं आफ्नो कार्यकक्षतिर गएका थिए ।

सोही क्रममा तिवारीले उनीमाथि कुटपिट गरेका थिए । विवादको विषय नखुलाए पनि तिवारीले मेसुकै अगाडि आफूलाई गालीगलौज र दुर्व्यवहार गरेपछि त्यहाँबाट कार्यकक्षतिर निस्किएको बताए । तिवारीले त्यहीँ आएर कुटपिट गरेका उनी बताउँछन् ।

तिवारीले बजगाईंमाथि कुटपिट गरेको विषयमा छानबिन गर्न अस्पताल व्यवस्थापन समितिले पनि समिति गठन गरेको छ ।प्रहरीले पनि उनलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस