महम्मदपुरमा वडा भेला: विकास निर्माणका योजनाबारे सुझाव संकलन, ७५ लाख खर्च सार्वजनिक

महम्मदपुरमा वडा भेला: विकास निर्माणका योजनाबारे सुझाव संकलन, ७५ लाख खर्च सार्वजनिक

रमेश कुमार यादव
साउन ३१, रौतहट
गरुडा नगरपालिका–५ महम्मदपुरमा आर्थिक वर्ष २०८३/०८४ का लागि विकास निर्माणका योजना छनोट तथा वडाको समग्र विकासबारे स्थानीयवासीसँग सुझाव–सल्लाह लिन वडा भेला सम्पन्न भएको छ। वडा कार्यालयको आयोजनामा आइतबार सम्पन्न भेलामा स्थानीयवासी, जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, राजनीतिकर्मी, सुरक्षाकर्मी, कर्मचारी तथा सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो।
वडा नं. ५ का वडाध्यक्ष रामविनोद प्रसाद साहको सभापतित्व तथा गरुडा नगरपालिकाका मेयर प्रत्याशी बृजकिशोर यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा सहभागीहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, धार्मिक तथा सांस्कृतिक स्थल, सडक, विद्युत्, अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक सेवा तथा अन्य पूर्वाधार विकासका विषयमा सुझाव दिएका थिए।


स्थानीय तथा शिवनगर प्रा।वि।का प्रधानाध्यापक हरदेव ठाकुरले विगतमा वडामा प्राप्त बजेटबाट विभिन्न क्षेत्रमा भएका विकास निर्माणका काम प्रशंसनीय रहेको बताउँदै वडाध्यक्ष साहको कार्यको प्रशंसा गरे। उनले आगामी आर्थिक वर्षको बजेटबाट वडाभित्र रहेका धार्मिक स्थल, मठ–मन्दिर तथा अन्य धार्मिक संरचनाको संरक्षण र निर्माणमा विशेष ध्यान दिन आग्रह गरे।
त्यस्तै, कार्यक्रममा डा. रामनरेश यादवले वडामा विभिन्न रोगको जोखिम बढ्नुको प्रमुख कारणमध्ये नाला तथा सरसफाइको अभाव पनि रहेको बताए। उनले लामखुट्टेको प्रकोप नियन्त्रण गर्न कम्तीमा प्रत्येक छ महिनामा नाला सफाइ गर्ने व्यवस्था गर्न वडाध्यक्षको ध्यानाकर्षण गराए। नाला सफाइ नियमित गर्दा लामखुट्टेको प्रजननस्थल नष्ट हुने र लामखुट्टेबाट सर्ने विभिन्न रोग नियन्त्रणमा सहयोग पुग्ने उनको भनाइ थियो।


डा। यादवले वडामा रहेका स्वास्थ्य संस्थाबाट पर्याप्त औषधि उपलब्ध हुन नसक्ने समस्या समाधानका लागि वडा तहबाट समेत आवश्यक बजेट छुट्याउनुपर्ने बताए। साथै, फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन वडाका मुख्य–मुख्य स्थानमा ड्रम राखी जथाभावी फोहोर फाल्ने प्रवृत्तिलाई नियन्त्रण गर्न आवश्यक व्यवस्था मिलाउन आग्रह गरे।
स्थानीय समाजसेवी राजेन्द्र प्रसाद यादवले शिक्षा, स्वास्थ्य र खानेपानीमा बजेट छुट्याएर मात्र पर्याप्त नहुने भन्दै त्यसको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिए। उनले वडाभित्र रहेका विद्यालयबीच शैक्षिक प्रतिस्पर्धा गराई उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई सोहीअनुसार प्रोत्साहन तथा बजेट उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने सुझाव दिए।

उनका अनुसार वडा नं. ५ मा एक वटा माध्यमिक विद्यालय, दुई वटा आधारभूत विद्यालय र तीन वटा प्राथमिक विद्यालय गरी जम्मा ६ वटा विद्यालय रहेका छन्। विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नियमित अनुगमन, विद्यार्थीको उपलब्धि मूल्यांकन तथा आवश्यक स्रोत–साधनको व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो।

त्यस्तै, वडा नं. ५ का अपाङ्गता भएका स्थानीय राजेश साहले वडाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूको तथ्यांक संकलन गरी आवश्यकताका आधारमा बजेट विनियोजन गर्न माग गरे। उनले अपाङ्गता भएका व्यक्तिहरूका लागि ट्राईसाइकल, विद्युतीय साइकल तथा आवश्यक सहायक सामग्री उपलब्ध गराउन पनि वडा कार्यालयको ध्यानाकर्षण गराए।
विगतको ७५ लाख खर्च सार्वजनिक


कार्यक्रममा वडाध्यक्ष रामविनोद प्रसाद साहले विगत आर्थिक वर्ष २०८२/०८३ मा वडा तथा नगरस्तरीय योजनामार्फत सम्पन्न भएका विभिन्न काम र त्यसमा भएको खर्च सार्वजनिक गरे। उनले वडा कार्यालयको बजेट तथा आफ्नो पहलमा नगरस्तरीय योजनाबाट भएका काममा कुल ७५ लाख रुपैयाँ खर्च भएको विवरण भेलामार्फत सार्वजनिक गरेका हुन्।
सार्वजनिक गरिएको विवरणअनुसार बौधिमाई प्रा.वि. महम्मदपुरको कम्पाउन्ड वाल निर्माणमा ५ लाख रुपैयाँ, दलित अधुरो भवन निर्माणका लागि ६ लाख रुपैयाँ, वडाभरि टावर लाइट जडानका लागि १० लाख रुपैयाँ र शिवनगर सडक ग्राभेल तथा मर्मतका लागि ५ लाख रुपैयाँ खर्च गरिएको छ।

त्यस्तै, जनज्योति आधारभूत विद्यालय गरुडा ठेठरहियाको विद्यालय भौतिक तथा शैक्षिक विकासका लागि ४ लाख रुपैयाँ, मा।वि। महम्मदपुर झाझपुलका लागि ८ लाख रुपैयाँ, छठघाट सजावट तथा ब्रह्म भगवती र दुर्गा पूजाका लागि वडाभरि १५ लाख रुपैयाँ तथा मेला–महोत्सवका लागि ५ लाख रुपैयाँ खर्च गरिएको वडाध्यक्ष साहले जानकारी दिए।
उनका अनुसार आफ्नो पहलमा नगरस्तरीय योजनाबाट लक्ष्मीपुर र शिवनगरका स्थानीयवासीलाई राइस कुकर वितरणका लागि समेत १७ लाख रुपैयाँ खर्च भएको छ।


वडाध्यक्ष साहले आफू निर्वाचित भएदेखि नै वडाको विकास निर्माणलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए। उनले वडा भेलाबाट प्राप्त सुझाव र सल्लाहलाई आत्मसात गर्दै आगामी दिनमा पनि स्थानीयवासीको आवश्यकता र प्राथमिकताका आधारमा योजना सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, “वडाको समग्र विकासका लागि चौतर्फी रूपमा काम गरिरहेका छौँ। विगतमा भएका कमी–कमजोरीलाई समेत आत्मसात गर्दै आगामी दिनमा आवश्यकताअनुसार कामलाई थप प्रभावकारी बनाउनेछौँ।”

बजेट आवश्यकताअनुसार विनियोजन गर्न माग
कार्यक्रमका प्रमुख अतिथि तथा गरुडा नगरपालिकाका मेयर प्रत्याशी बृजकिशोर यादवले वडाध्यक्ष साहले हालसम्म गरेका विकास निर्माणका काम तथा खर्च विवरण सार्वजनिक गर्ने कार्य प्रशंसनीय रहेको बताए। यादवले गरुडा नगरपालिका–५ नगरपालिकाकै ठूलो वडा भएकाले वडाको आवश्यकता र जनसंख्याका आधारमा पर्याप्त बजेट विनियोजन हुनुपर्ने बताए। उनले विगतमा वडाले पाउनुपर्ने बजेट पर्याप्त रूपमा उपलब्ध हुन नसक्दा कतिपय विकास निर्माणका काम प्रभावित भएको गुनासो गरे।


उनले वडाध्यक्ष साहले सीमित बजेटका बाबजुद प्राथमिकताका आधारमा काम गर्नुका साथै खर्च विवरण सार्वजनिक गरेर पारदर्शिता कायम गरेको बताए। आगामी दिनमा पनि विकास निर्माणका काममा पारदर्शिता र जनसहभागितालाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए। भेलामा आर्थिक वर्ष २०८३/०८४ का लागि नगरपालिकाबाट विनियोजन हुने बजेटलाई वडाको वास्तविक आवश्यकता र प्राथमिकताका आधारमा प्रयोग गर्ने विषयमा विस्तृत छलफल भएको थियो।

सहभागीहरूले सडक, नाला, सरसफाइ, शिक्षा, स्वास्थ्य, खानेपानी, धार्मिक स्थल, विद्यालय विकास, फोहोर व्यवस्थापन तथा अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक कार्यक्रमलाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए।
वडा भेलाबाट आएका सुझाव तथा स्थानीयवासीका मागलाई आगामी आर्थिक वर्षका योजना छनोट तथा कार्यान्वयनमा समेटिने वडाध्यक्ष साहले प्रतिबद्धता जनाएका छन्। भेलाले जनताको प्रत्यक्ष सहभागितामार्फत विकास योजना छनोट गर्ने र बजेट खर्चमा पारदर्शिता कायम गर्ने विषयलाई प्राथमिकता दिएको जनाएको छ।

लेखकको बारेमा

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस