
रमेश कुमार यादब
भदौं ०१, रौतहट
रौतहटको वृन्दावन नगरपालिका–८ मा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ। आफ्नै वडा कार्यालय भवन निर्माण सम्पन्न भएपछि स्थानीय नागरिकलाई सरकारी सेवा लिन सहज हुनुका साथै सेवा प्रवाह थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री हुने अपेक्षा गरिएको छ।
करिब ६० लाख रुपैयाँको लागतमा निर्माण गरिएको एकतले वडा कार्यालय भवनमा सभा हल, स्टोर कोठा, प्राविधिक कोठा, कार्यालय सचिवको कार्यकक्ष, वडा अध्यक्षको कार्यकक्ष, दुईवटा शौचालय तथा बाथरुम लगायतका आवश्यक संरचना रहेका छन्। आधुनिक र सुविधा सम्पन्न रूपमा निर्माण गरिएको भवनबाट अब वडाका दैनिक प्रशासनिक तथा सिफारिस लगायतका सेवाहरू सहज रूपमा सञ्चालन हुने बताइएको छ।

नवनिर्मित भवनको उद्घाटन गर्दै वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोदप्रसाद कुर्मीले आफ्नै भवन निर्माण हुनु वडाको सेवा प्रवाहका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। यसअघि वडा कार्यालयको आफ्नै भवन नहुँदा अर्को संस्थाको महिला विकास भवनबाट सेवा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै उनले अब नागरिकलाई आफ्नै वडा कार्यालयबाट व्यवस्थित रूपमा सेवा उपलब्ध गराउन सकिने बताए।
नगर प्रमुख कुर्मीले जनप्रतिनिधिका रूपमा निर्वाचित भएपछि नागरिकको आवश्यकता र प्राथमिकताका आधारमा विकास निर्माणका कामलाई अघि बढाइएको दाबी गरे। वडा कार्यालय भवनजस्ता आधारभूत संरचनाको निर्माणले स्थानीय तहको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै वडा नम्बर ८ का वडा अध्यक्ष रवीन्द्र प्रसाद साहले आफूहरू निर्वाचित भएर आएपछि वडामा विकास निर्माणको गति तीव्र भएको बताए। उनका अनुसार बहुअरी, बरगजवा र आँकपाडथर लगायतका क्षेत्रलाई समेटेर हालसम्म करिब १४ करोड रुपैयाँ बराबरका विभिन्न विकास निर्माणका काम सम्पन्न भइसकेका छन्।
वडा अध्यक्ष साहले वडाको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, नाला, ढलान, सामुदायिक भवन, मन्दिर, मस्जिद, छठघाट निर्माण तथा सौन्दर्यीकरण, दलित धर्मशालालगायतका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको बताए। आगामी दिनमा पनि वडाको आवश्यकता र नागरिकको मागका आधारमा विकासका कामलाई निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरे।
खानेपानी योजनामा ४ करोड ७८ लाख लगानी
वृन्दावन–८ मा वडा कार्यालय भवन निर्माणसँगै खानेपानीको समस्या समाधान गर्ने उद्देश्यले ठूलो लगानीमा खानेपानी आयोजना समेत सञ्चालनमा रहेको नगर प्रमुख कुर्मीले जानकारी दिए। उनका अनुसार वडा कार्यालय नजिकैको कम्पाउन्डभित्र सञ्चालन भइरहेको खानेपानी योजनाका लागि करिब ४ करोड ७८ लाख रुपैयाँ बराबरको काम भइरहेको छ। योजनाअन्तर्गत दुईवटा बोरिङ निर्माण भइसकेका छन् भने करिब ५ सय फिट गहिराइबाट भूमिगत पानी निकाल्ने व्यवस्था गरिएको छ।खानेपानी आयोजना सम्पन्न भएपछि वडा नम्बर ८ का करिब ४ हजार घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने नगर प्रमुख कुर्मीको दाबी छ। स्वच्छ तथा सहज खानेपानीको पहुँच विस्तार भएपछि स्थानीय बासिन्दाले लामो समयदेखि भोग्दै आएको खानेपानीको समस्या समाधान हुने अपेक्षा गरिएको छ।
नगर प्रमुख कुर्मीले वडा क्षेत्रमा सडक तथा ढलान निर्माण, नाला निर्माण, सार्वजनिक स्थलको संरक्षण तथा सौन्दर्यीकरण लगायतका काममा समेत नगरपालिकाले प्राथमिकताका साथ बजेट लगानी गरिरहेको बताए। धार्मिक तथा सांस्कृतिक महत्व बोकेका स्थलको संरक्षण गर्दै आवश्यक पूर्वाधार निर्माणलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले बताए।

उनका अनुसार वडा क्षेत्रमा शिव मन्दिर निर्माणका लागि जग्गा व्यवस्थापन तथा कम्पाउन्ड वाल निर्माणको काम अघि बढाइएको छ। चालु वर्षभित्रै मन्दिर निर्माणको कामलाई समेत पूर्णता दिने लक्ष्य रहेको नगर प्रमुख कुर्मीले जानकारी दिए। उनले आफ्नो कार्यकालमा भएका विकास निर्माणका कामहरू नागरिकले प्रत्यक्ष रूपमा अनुभूति गर्ने गरी अघि बढिरहेको दाबी गर्दै बाँकी रहेका योजनाहरूलाई समेत प्राथमिकताका आधारमा क्रमशः सम्पन्न गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
‘२०७९ को स्थानीय तह निर्वाचनमा जनताले दिएको जिम्मेवारीलाई जनप्रतिनिधिका रूपमा पूरा गर्ने प्रयास गरिरहेका छौँ,’ नगर प्रमुख कुर्मीले भने, ‘जनताको सेवकका रूपमा काम गर्दै वडालाई सुविधासम्पन्न बनाउने हाम्रो लक्ष्य हो।’
कार्यक्रममा जनप्रतिनिधि तथा स्थानीयको उपस्थिति
नवनिर्मित वडा कार्यालय भवन उद्घाटन समारोहमा नगर प्रमुख विनोदप्रसाद कुर्मी प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष रवीन्द्रप्रसाद साहले गरेका थिए। वृन्दावन नगरपालिका–९ का वडा अध्यक्ष प्रवेज आलम विशिष्ट अतिथिका रूपमा सहभागी थिए।कार्यक्रममा प्रहरी चौकी बिर्ताका असई खिमराज चौधरी, कार्यपालिका सदस्य राजेश कुमार पासवान, दलित महिला सदस्य लालपरी देवी, वडा सदस्य श्रीनन्दन यादव, समाजसेवी हरिनारायण पटेल, प्रेम राउत, छोटेलाल साह कलवार, सौदागर साह, भोला पटेल, राजेन्द्र पटेल लगायत स्थानीय भद्रभलाद्मी तथा नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
वडा कार्यालयको आफ्नै भवन निर्माणसँगै स्थानीय तहबाट प्रवाह हुने प्रशासनिक सेवा नागरिकको पहुँचमा थप सहज हुने स्थानीयको अपेक्षा छ। विकास निर्माणका साथै शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा सामाजिक पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढाइएका योजनाले आगामी दिनमा वडा नम्बर ८ को समग्र विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
