रमेश कुमार यादब
भदौं ०४, रौतहट
मौलापुर नगरपालिका–७ सगैयामा नवनिर्मित रामेश्वरनाथ धाम मन्दिरको विधिवत् उद्घाटन गरिएको छ। बिहीबार आयोजित विशेष धार्मिक तथा औपचारिक समारोहबीच पुरोहितद्वारा वैदिक मन्त्र उच्चारण, पूजा–पाठ तथा धार्मिक विधि सम्पन्न गरी मौलापुर नगरपालिकाकी नगर प्रमुख एवं जिल्लाकै पहिलो महिला नगर प्रमुख रिना कुमारी साहले रिबन काटेर मन्दिरको उद्घाटन गर्नुभएको हो।उद्घाटन समारोहमा स्थानीयवासी, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। धार्मिक विधिअनुसार सम्पन्न कार्यक्रममा स्थानीयवासीले भगवान शिवको पूजा–आराधना गर्दै मन्दिरको संरक्षण, प्रवद्र्धन तथा आगामी दिनमा थप विकासका लागि सामूहिक पहल आवश्यक रहेको बताएका थिए।
२५ लाखको लागतमा भगवान शिवको भव्य मन्दिर निर्माण

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख रिना कुमारी साहले सगैयामा विगत करिब १० वर्षदेखि स्थानीयवासीले अनौपचारिक रूपमा रामेश्वरनाथको पूजा–आराधना गर्दै आएको स्मरण गर्नुभयो। स्थानीयको धार्मिक आस्था, आवश्यकता र लामो समयदेखिको मागलाई ध्यानमा राख्दै नगरपालिकाले २५ लाख रुपैयाँको लगानीमा भगवान शिवको व्यवस्थित तथा भव्य मन्दिर निर्माण गरेको उहाँले जानकारी दिनुभयो।
नगर प्रमुख साहले मन्दिर निर्माणमा जग्गा उपलब्ध गराउने बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका–६ का स्थानीय तथा स्वर्गीय सियाराम महतो र उहाँको परिवारप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो। धार्मिक स्थल निर्माणका लागि जग्गा उपलब्ध गराएर उहाँको परिवारले महत्वपूर्ण योगदान गरेको भन्दै नगर प्रमुख साहले सहयोगी सबै पक्षप्रति आभार व्यक्त गर्नुभयो। त्यसैगरी, सोही परिसरमा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिश पटेलको सहयोगमा करिब १० लाख रुपैयाँको लागतमा पार्वती मन्दिरसमेत निर्माण गरिएको नगर प्रमुख साहले बताउनुभयो।
सगैयावासीका लागि धार्मिक आस्थाको महत्वपूर्ण केन्द्र

रामेश्वरनाथ धाम मन्दिर निर्माण भएपछि सगैयावासीमा उत्साह र खुसी थपिएको नगर प्रमुख साहले बताउनुभयो। भगवान शिवको नियमित पूजा–आराधना हुने यस पवित्र स्थलले स्थानीयवासीसँगै समग्र नगरवासीको सुख, शान्ति, समृद्धि र कल्याणमा सकारात्मक योगदान पु¥याउने विश्वास उहाँले व्यक्त गर्नुभयो। मन्दिर निर्माणमा विभिन्न सहयोगी हातहरूले अग्रसरता देखाएको उल्लेख गर्दै नगर प्रमुख साहले आगामी दिनमा पनि स्थानीय, प्रदेश तथा अन्य सरोकारवाला निकायसँगको सहकार्यमा धामको विकासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।उहाँले अबदेखि रामेश्वरनाथ धाममा विधिवत् रूपमा नियमित पूजा–आराधना सञ्चालन हुने बताउँदै यस क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक महत्व बोकेको स्थलका रूपमा विकास गर्ने नगरपालिकाको योजना रहेको जानकारी दिनुभयो।
सडक, खानेपानी र विश्रामस्थल निर्माण गर्ने प्रतिबद्धता

नगर प्रमुख साहले मन्दिर निर्माणसँगै धामसम्म पुग्ने सडक, खानेपानी, सरसफाइ, विश्रामस्थललगायत आवश्यक पूर्वाधारलाई क्रमशः व्यवस्थित गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । धार्मिक स्थलमा आउने भक्तजन तथा दर्शनार्थीलाई सहज वातावरण उपलब्ध गराउन आवश्यक पूर्वाधार विकासमा नगरपालिकाले प्राथमिकता दिने उहाँको भनाइ थियो।उहाँका अनुसार धामको संरक्षण र विकाससँगै यस क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्न सकिने पर्याप्त सम्भावना रहेको छ। आवश्यक पूर्वाधार निर्माण भएपछि स्थानीयवासी मात्र नभई जिल्लाका विभिन्न स्थान तथा बाहिरी क्षेत्रबाट समेत श्रद्धालुहरू आउने वातावरण बन्ने अपेक्षा गरिएको छ ।
मौलापुर धार्मिक तथा ऐतिहासिक सम्पदाको केन्द्र : नगर प्रमुख साह

नगर प्रमुख साहले मौलापुर नगरपालिका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक दृष्टिले महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्नुभयो । मौलापुरमा रहेको पुरातात्विक महादेव मन्दिर, पतौरा लगायतका ऐतिहासिक तथा धार्मिक सम्पदाले नगरको पहिचान र गौरव बढाएको उहाँको भनाइ थियो।रामेश्वरनाथ धामको निर्माणले मौलापुरको धार्मिक पहिचानलाई थप मजबुत बनाएको बताउँदै उहाँले नगरभित्र रहेका महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक सम्पदालाई संरक्षण गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान स्थापित गराउनेतर्फ स्थानीय सरकार गम्भीर रहेको बताउनुभयो।मौलापुरका महत्वपूर्ण धार्मिक तथा पुरातात्विक स्थललाई आगामी दिनमा विश्व सम्पदा सूचीमा समावेश गराउन आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत नगर प्रमुख साहले व्यक्त गर्नुभयो।

मन्दिर उद्घाटन कार्यक्रममा मौलापुर नगरपालिकाका नगर उपप्रमुख नागेन्द्र प्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत निलम कुमार न्यौपाने, युवा नेता विवेक प्रसाद साह, जग्गादाता सियाराम महतो लगायत स्थानीय भद्रभलादमी, समाजसेवी, बुद्धिजीवी तथा सयौँ स्थानीयवासीको सहभागिता रहेको थियो।कार्यक्रममा सहभागी स्थानीयवासीले लामो समयदेखि पूजा–आराधना हुँदै आएको स्थलमा व्यवस्थित मन्दिर निर्माण भएर विधिवत् उद्घाटन हुनु सगैयाका लागि गौरवको विषय भएको बताएका थिए ।

उनीहरूले मन्दिरको नियमित सञ्चालन, संरक्षण तथा परिसरको थप विकासका लागि स्थानीय सरकार, स्थानीयवासी र सहयोगी निकायबीच निरन्तर सहकार्य आवश्यक रहेको बताएका छन्। दरामेश्वरनाथ धाम मन्दिर निर्माण तथा उद्घाटनसँगै सगैयामा धार्मिक पर्यटनको सम्भावना थप बढेको स्थानीयको विश्वास छ। स्थानीयवासीको आस्था, सहभागिता र नगरपालिकाको पहलमा निर्माण भएको यस धामले आगामी दिनमा धार्मिक तथा सांस्कृतिक गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा आफ्नो पहिचान स्थापित गर्ने अपेक्षा गरिएको छ।
मन्दिर परिसरमा आवश्यक पूर्वाधार विस्तार, नियमित धार्मिक कार्यक्रम, सरसफाइ तथा संरक्षणका कामलाई निरन्तरता दिन सके रामेश्वरनाथ धाम मौलापुर नगरपालिकाको प्रमुख धार्मिक गन्तव्यका रूपमा विकास हुन सक्ने स्थानीयवासीको भनाइ छ। रामेश्वरनाथ धामको निर्माणसँगै सगैयाको धार्मिक पहिचान थप बलियो बनेको छ भने स्थानीय सरकारको पूर्वाधार विकास, धार्मिक सम्पदा संरक्षण र पर्यटन प्रवद्र्धनसम्बन्धी योजनाले आगामी दिनमा यस क्षेत्रलाई थप आकर्षक धार्मिक गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
